सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा मातृभाषा संरक्षण तथा साहित्य प्रवर्द्धन गर्ने उद्देश्यले कविता तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य त्रैलोक्यमान बनेपाली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सुमा श्रेष्ठ, गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङ, उपाध्यक्ष विपना कुलुङ, प्रमुख प्रशासकीय अधिकृत खरिधन रेम्निसङ, वडा नं. १ का अध्यक्ष पर्खिधन नाछिरिङ लगायत ११ वटा विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि बनेपालीले मातृभाषामा कविता वाचन र भाषा संरक्षणमा लागिपरेकोमा आयोजक संस्थालाई धन्यवाद दिँदै साहित्य केवल सुन्दरता मात्र नभई त्यसभित्र कथा, व्यथा, अर्थ र कारण पनि लुकेको हुने धारणा राख्नुभयो।

कार्यक्रममा वक्ताहरूले महाकुलुङ प्राकृतिक, भाषिक तथा सांस्कृतिक विविधताले भरिएको क्षेत्र भएको उल्लेख गर्दै भाषा र संस्कृतिको संरक्षणमा अझ सक्रिय हुनुपर्ने बताए। मातृभाषा बचाउन लेखन, अध्ययन तथा व्यवहारिक प्रयोग आवश्यक रहेको र सरकारी कामकाजमा समेत मातृभाषाको प्रयोग विस्तार गर्नुपर्ने सुझाव दिइएको थियो।
कविता वाचनतर्फ १४ जना सहभागी भएका थिए भने रचना वाचनतर्फ महाकुलुङभित्रका विभिन्न विद्यालयका ३४ जना विद्यार्थी सहभागी भएका थिए। बाहिर रहेका सहभागीहरूले अनलाइनमार्फत रचना पठाएका थिए।

प्रतियोगितामा लाकपद सोम्फोरु कुलुङ प्रथम, अशोक पिदिसै द्वितीय, बाबू केशरी तृतीय तथा नगेन्द्र रिन्हो सान्त्वना भएका थिए। विजेताहरूले क्रमशः नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए।
कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको जानकारी मनुहाङ किराँती सोलुले दिएका हुन्। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानले सहकार्य गरेको थियो।

























