लामो समयपछि चर्चित कलाकार जोडी प्रकाश सपुत र अञ्जली अधिकारी पुनः एउटै लोकगीतको भिडियोमार्फत दर्शकमाझ देखिएका छन्। भर्खरै सार्वजनिक गरिएको “फूल जस्तै पँयालै” बोलको मौलिक लोकगीतमा यी दुईको रोमान्टिक प्रस्तुतिले दर्शक तथा लोकसङ्गीत प्रेमीमाझ विशेष चर्चा बटुलेको छ।
गीतमा लोकप्रिय गायक खेम सेन्चुरी र गायिका रन्जिता विश्वकर्मा को स्वर रहेको छ। विक्रम बाबु विश्वकर्माको शब्द रहेको गीतमा संगीत असिम चन्द्र विश्वकर्माले दिएका हुन्।
भिडियोमा प्रकाश सपुत र अञ्जली अधिकारीसँगै एकेन्द्र सारा शङ्करको अभिनय पनि देख्न सकिन्छ। निर्देशन तथा कोरियोग्राफीसमेत एकेन्द्र सारा शङ्करले गरेका हुन्। गीतमा नेपाली मौलिकता, लोक संस्कृति र ग्रामीण परिवेशलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।
गायिका रन्जिता विश्वकर्माले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेको यो गीतलाई उनको विशेष मेहनत र सपनासँग जोडिएको परियोजनाका रूपमा हेरिएको छ।
गीतको औपचारिक विमोचन राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल उपत्यका समिति ले आयोजना गरेको कार्यक्रममा गरिएको थियो। कार्यक्रमको सञ्चालन उपत्यका समितिका सचिव सञ्जय पोखरेल ले गरेका थिए भने अध्यक्षता अनुर्पण घिमिरे ले गरेकी थिइन्। संस्थाका प्रवक्ता विकास थापा ले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिव शिव हमाल रहेका थिए भने विशिष्ट अतिथिका रूपमा राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका केन्द्रीय अध्यक्ष चन्द्रमणि गौतम सहभागी रहेका थिए। साथै संस्थाका सल्लाहकार सुमन बैरागी पण्डित लगायत अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै चन्द्रमणि गौतमले उपत्यका समितिले छोटो समयमै गरेका गतिविधिको प्रशंसा गर्दै नयाँ पुस्ताका कलाकारलाई यसरी औपचारिक रूपमा प्रस्तुत गर्नु सकारात्मक पक्ष भएको बताए। उनले गायिका रन्जिता विश्वकर्माको मेहनत, साहस र निरन्तरताको खुलेर प्रशंसा गरेका थिए।
त्यस्तै शिव हमालले “फूल जस्तै पँयालै” जस्ता मौलिक लोकगीतहरूले नेपाली लोकसङ्गीत क्षेत्रमा नयाँ इट्टा थप्ने विश्वास व्यक्त गरे। उनले लोकदोहोरी क्षेत्रमा पछिल्लो समय देखिएको विकृति, विसंगति तथा उश्रृङ्खल सामग्रीविरुद्ध राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल उपत्यका समिति ले देखाएको तदारुकता र खबरदारीको खुलेर तारिफ गरेका थिए। मौलिक लोकलयमा आधारित गीत–संगीतलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै उनले नयाँ प्रतिभासँग सहकार्य गर्न र उनीहरूलाई अगाडि बढाउन आफू सधैं उत्साहित रहने धारणा पनि राखेका थिए।
सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।
























