काठमाडौं । लोपोन्मुख लोककला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१२, कपन खरिबोटमा “भजन संस्कृति प्रवर्द्धनसहितको बृहत् जनचेतनामूलक सांस्कृतिक कार्यक्रम एवं बुढानिलकण्ठ उत्सव २०८३” आयोजना हुने भएको छ।
बुढानिलकण्ठ नगरपालिकाको संरक्षकत्वमा आयोजना हुन लागेको कार्यक्रममा वडा नम्बर १२ प्रवर्द्धकको रूपमा रहेको छ। “जोगाऔँ सम्पदा, संस्कृति र सभ्यता” भन्ने मूल नारासहित सञ्चालन हुने उक्त कार्यक्रम यही जेठ १६ गते शनिबार कपन खरिबोटस्थित त्रि–ज्योति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा राष्ट्रिय स्तरका करिब दुई दर्जन कलाकारहरूको प्रस्तुति रहनेछ। साथै लागूऔषध दुव्र्यसन, सर्ने तथा नसर्ने रोग, सामाजिक सञ्जालको दुरुपयोग, महिला हिंसा, लैङ्गिक हिंसा तथा सुर्तिजन्य पदार्थ नियन्त्रणलगायत विषयमा आधारित एक घण्टाको सडक नाटक समेत प्रस्तुत गरिने कार्यक्रम संयोजक एवं लोकप्रिय लोकदोहोरी गायक नवीन पौडेलले जानकारी दिए।
उक्त कार्यक्रमलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र मन्त्रालयअन्तर्गतको पर्यटन कार्यालय काठमाडौंले सहयोग गरेको छ।
कार्यक्रममा खुमन अधिकारी, सुष्मिता जी विश्व, नारायण खनाल, नवीन पौडेल, गीता भट्टराई, कविता खत्री, नृत्याङ्गना स्वीकृति पौडेल, फुट्टी शेर्पा, सुमित्रा कोइराला, आशा लामा, राधिका ढकाल, भीमसेन खतिवडा, सुमन थापा मगर, सिन्धुली कलाघर, राजेन्द्र गिरी ‘गुन्द्रुक साधे’, जादुगर श्रीदेवी देवकोटा, उमा बिडारी, निश्चल सिलवाल, सञ्जय खड्का, निशा खड्का, सपना सुनाम, पुनम बस्याल, देवी हमाल, रेखा लामा, सुष्मा लामा, मुकुन्द घिमिरे, रोजी कुमाललगायत कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रमलाई बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ भित्रका सरकारी तथा संस्थागत विद्यालयहरूले समेत सहयोग गरेका छन्। कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्।
कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन वडा नम्बर १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले सम्पूर्ण वडावासीलाई उपस्थितिका लागि आह्वान गरेका छन्।
स्वीकृति इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल सह–आयोजकको रूपमा रहेको छ। स्थानीय लोपोन्मुख लोकभजन, कला, संस्कृति तथा परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृतिसँग जोड्ने तथा विभिन्न विषयमा जनचेतना फैलाउने उद्देश्य कार्यक्रमको रहेको आयोजकले बताएका छन्।
सोही अवसरमा समाजमा उल्लेखनीय योगदान पुर्याउने संस्कृतिकर्मी, पर्यटनकर्मी, शिक्षासेवी, समाजसेवी तथा पत्रकारहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ।

























