२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

रैथाने कृषि बजारमा उद्यमीहरूको जन्मदिन मनाउने अभियान सुरु



कमलादीस्थित आइटी प्लाजामा सञ्चालन हुँदै आएको रैथाने कृषि बजारले उद्यमीहरूको जन्मदिन मनाउने नयाँ अभियान सुरु गरेको छ।

अभियानको सुरुवात गत शनिबार जेठ १३ गते रैथाने अभियन्ता तथा डिजिटल ग्रीन नेपालका अध्यक्ष उपेन्द्र कुइकेल को जन्मदिन मनाएर गरिएको हो।

हरेक शनिबार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने उक्त बजारमा करिब ५० जना उद्यमी तथा साना किसानले आफ्ना उत्पादनको खरिद–बिक्री गर्दै आएका छन्। अबदेखि बजारमा जन्मदिन परेका उद्यमीहरूको सम्मानस्वरूप कोदो र फापरबाट बनाइएको रैथाने केक काट्ने परम्परा थालिएको बजार व्यवस्थापन समितिले जनाएको छ।

समितिका अनुसार बजारले स्थानीय तथा रैथाने उत्पादनको प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्रत्येक हप्ता बजारबाट सामान खरिद गर्ने उपभोक्तालाई कुपन वितरण गरिने र त्यसपछि गोलाप्रथामार्फत विजेता छनोट गरी रैथाने उत्पादन पुरस्कारस्वरूप प्रदान गरिने व्यवस्था पनि रहेको छ ।

बजार व्यवस्थापन समितिले यस्ता गतिविधिले रैथाने उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्नुका साथै उद्यमीहरूबीच आपसी सद्भाव र उत्साह अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।

बजार रैथाने एग्री प्रोडक्ट नेपालको अगुवाई र डिजिटल ग्रीन नेपालको सहजीकरणमा सञ्चालनमा छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ९ : ४१ बजे