७ असार २०८३, आइतबार | Sun Jun 21 2026

महाकुलुङमा निकुञ्ज र हाइड्रोपावरले आदिवासी जनजातिमा पारेको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न



सोलुखुम्बु — सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा राष्ट्रिय निकुञ्ज तथा हाइड्रोपावर परियोजनाले स्थानीय आदिवासी जनजाति समुदायमा पारेको प्रभावबारे केन्द्रित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आदिवासी जनजाति आयोग, पुल्चोक ललितपुर र महाकुलुङ गाउँपालिकाको संयुक्त आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापा मगर प्रमुख प्रशिक्षकका रूपमा सहभागी भएका थिए। कार्यक्रम गाउँपालिका अध्यक्ष सूर्यबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा वडा अध्यक्षहरू, स्थानीय बुद्धिजीवी, नेपाल प्रहरी, इलाका प्रहरी कार्यालय सोताङ, बुङ प्रहरी चौकीका प्रतिनिधि तथा गाउँपालिकाका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

अन्तरक्रियाका क्रममा राष्ट्रिय निकुञ्ज र हाइड्रोपावर परियोजनाले स्थानीय आदिवासी समुदायमा पारेका सामाजिक, आर्थिक तथा वातावरणीय प्रभावबारे छलफल गरिएको थियो। सहभागीहरूले निकुञ्जभित्रका वन्यजन्तुको आक्रमणका कारण स्थानीय नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको, निकुञ्जबाट संकलन हुने रोयल्टी स्थानीय तहले पर्याप्त रूपमा प्राप्त गर्न नसकेको तथा स्थानीय समुदायका अधिकार र आवश्यकताप्रति सम्बन्धित निकायले ध्यान दिनुपर्ने धारणा राखेका थिए।

महाकुलुङ गाउँपालिका हिमाली क्षेत्र र प्राकृतिक स्रोतसाधनले सम्पन्न स्थानीय तह भएकाले विकास आयोजना सञ्चालन गर्दा स्थानीय समुदायको हित, वातावरणीय संरक्षण तथा जलवायु प्रभावका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रममा संविधान, प्रचलित कानुन तथा आदिवासी जनजातिका अधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यवस्थाबारे समेत जानकारी गराइएको थियो। साथै, पूर्वाधार विकासका नाममा सञ्चालन भइरहेका हाइड्रोपावर परियोजनाले स्थानीय समुदाय, वन, जलस्रोत तथा वातावरणमा पार्ने प्रभावबारे गहन छलफल भएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ३ : ३० बजे