सोलुखुम्बु। सोलुखुम्बु र ओखलढुङ्गाबाट स्नोज एम्बासडर कार्यक्रममा विजेता बनेका प्रतिभाहरू अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन थाइल्याण्ड जाने भएका छन्।
स्नो सञ्चार प्रालिद्वारा आयोजनामा ओखलढुङ्गामा गत पौष ५ गते सम्पन्न प्रतियोगिताबाट युहेना श्रेष्ठ विजेता बनेकी थिइन् भने सोलुखुम्बुमा फागुन ३० गते सम्पन्न फाइनल प्रतियोगितामा नुमी राई र आकृति राई विजेता घोषित भएका थिए। उनीहरूले अब नेपालका तर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त गरेका छन्।
आयोजकका अनुसार थाइल्याण्डमा हुने कार्यक्रम जुन ३० देखि जुलाई ६ सम्म सञ्चालन हुनेछ। कार्यक्रममा विश्वका १२ भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
विशेषगरी सोलुखुम्बु र ओखलढुङ्गाजस्ता हिमाली तथा पहाडी जिल्लाबाट अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्न सफल यी प्रतिभाहरूले स्थानीय स्तरमा उत्साह थपेको छ। उनीहरूले आफ्नो प्रतिभा, संस्कृति र नेपाली पहिचान विश्वसामु प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
यस कार्यक्रमसँग जोडिएको अर्को प्रेरणादायी पक्ष भनेको सम्भव राउतको यात्रा हो। एक वर्षअघि यही कार्यक्रममार्फत अन्तर्राष्ट्रिय मञ्चमा सहभागी बनेका राउत अहिले स्नो सञ्चार प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय निर्देशकको भूमिकामा सहभागीहरूलाई नेतृत्व गर्दै थाइल्याण्ड जाँदैछन्। उनको यात्रा एक साधारण प्रतिस्पर्धीबाट अन्तर्राष्ट्रिय नेतृत्व तहसम्म पुगेको उदाहरणका रूपमा हेरिएको छ।
स्नोज एम्बासडर कार्यक्रमले बालबालिका तथा युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभाको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकले जनाएको छ।

























