२७ बैशाख २०८३, आइतबार | Mon May 11 2026

नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुले एआइ सम्बन्धित तालिम प्रदान गर्ने



नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुले जिल्लामा कार्यरत पत्रकारहरूका लागि तीन दिने एआई पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको समन्वयमा सञ्चालन हुन लागेको उक्त तालिम जेठ ४ गते सोमबारदेखि ६ गते बुधबारसम्म सल्लेरीमा सञ्चालन गरिने महासंघले जनाएको छ।

तालिम बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा सहभागी हुन चाहने पत्रकारका लागि कम्तीमा एक वर्षदेखि पूर्णकालीन पत्रकारितामा आबद्ध भएको तथा कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने योग्यता तोकिएको छ।

आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजका दुई प्रति फोटो र कार्यरत सञ्चारगृहको सिफारिस पत्र आवश्यक पर्ने सूचनामा उल्लेख गरिएको छ।

महासंघका अनुसार एआई प्रविधिको प्रयोगसँगै पत्रकारितामा नयाँ अभ्यास र डिजिटल सीपको आवश्यकता बढिरहेका बेला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। पछिल्ला वर्षहरूमा नेपालका विभिन्न जिल्लामा समेत एआई तथा डिजिटल पत्रकारिता सम्बन्धी तालिमहरू सञ्चालन भइरहेका छन्।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ८ : ४६ बजे