काठमाडौँ । पशुपति क्षेत्रमा आगामी श्रावण १ गतेदेखि भाद्र २१ गतेसम्म ५२ दिन लामो विराट ज्ञान महायज्ञ आयोजना हुने भएको छ।
मानव सेवा फाउन्डेसन नेपालको आयोजनामा हुने यो महायज्ञको नाम श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ दिइएको छ । फाउन्डेसनले विगत २० वर्षदेखि देशका विभिन्न भागमा कोटिहोमसहित सयौँ यज्ञ, अनुष्ठान र धार्मिक गतिविधिहरू गर्दै आएको छ।
फाउन्डेसनद्वारा सञ्चालित मामाघर आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको निर्माणाधीन भवन तथा फाउन्डेसनको अक्षयकोष स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञ स्थलमा तयारी स्वरूप आवश्यक संरचना निर्माणलाई तीव्रता दिइएको छ ।
महायज्ञमा विविध धार्मिक अनुष्ठानहरू सहित कथा प्रवचनको कार्यक्रम पनि समावेश गरिएको छ। देश तथा विदेशमा ख्यातिप्राप्त धर्मगुरु तथा कथा प्रवक्ताहरूको सहभागिता रहने छ। महायज्ञमा लाखौँ श्रद्धालु भक्तजनको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।
























