काठमाडौँ । सभामुख देवराज घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियासहित भिजिट भिसा प्रकरणमा संसदमा निरन्तर अवरोध गरिरहेका रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका छन् । उनले मंगलबार रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरेका हुन् ।
सभामुख घिमिरेले रास्वपा र राप्रपाका नेताहरू भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारवाहीमा सहभागी नभएकोप्रति त्यसको असर संसदमा परेको बताउदै सभामुखका रुपमा आफुले अप्ठ्यारो महसुस गरिरहेको बताएका थिए । सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भने उल्लेख गर्दै सभामुखले हाउस निरन्तर अवरोध हुँदा ती विधेयकको अवस्था के हुन्छन्, यसतर्फ सबैले सोच्न जरुरी रहेको बताएका थिए । उनले संसद चलाउने वातावरण बनाउन सरकार र विपक्षी दलहरूलाई समेत आग्रह गरेका छन् ।
छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री चौरसियाले सरकारले छानबिन समिति बनाएर काम सुरू गरेको बताउदै सहमतिको बिन्दुमा पुग्न लचिलो हुन आग्रह गरेका थिए ।
छलफलमा रास्वपा कार्यवाहक सभापति अर्यालले सभामुखले सहमतिका लागि निरन्तर पहल गरिरहेको बताउदै आफुहरुले उठाएका मुद्दा धेरै गम्भीर रहेको र यति गम्भीर मुद्दा सम्बोधन गर्न सरकारले उल्टै तदारुकता देखाउनुपर्नेमा गैरजिम्मेवारी देखाएको बताएका थिए ।
राप्रपा उपाध्यक्ष तामाङले भिजिट भिसा प्रकरणमा आफुहरुले मुद्दा उठान गरिसकेको तर, सरकारले यस विषयलाई गम्भीरतापूर्वक नलिएको बताए ।
























