१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

प्रधानमन्त्री किन प्रधानमन्त्री हुन सक्दैन ?


२४ फाल्गुन २०७९, बुधबार  

0
Shares

आदित्यमान श्रेष्ठ

प्रधानमन्त्री भनेको प्रधानमन्त्री जस्तो काम नगर्ने भयो। प्रधानमन्त्रीले मन्त्रीमण्डलका सदस्यहरू अर्थात मन्त्रीहरू फेर्न सक्नु पर्ने हो। तर नेपालका प्रधानमन्त्रीले सो काम कहिलै गर्न सकेनन्। संविधान नै यस्तो बनाइएको छ कि प्रधानमन्त्रीले प्रधानमन्त्रीको रुपमा काम गर्न सक्दैनन्।

शेरबहादुर देउवा अस्ति भरखर प्रधानमन्त्री थिए तर वास्तवमा प्रधानमन्त्री त पुष्पकमल दाहाल नै थिए। पुष्पकमल दाहाल र माधव नेपाल गएर शेरबहादुर देउवालाई प्रधानमन्त्री भई दिनु पर्‍यो भनेर चिरौरी गरे। प्रधानमन्त्री हुन शेरबहादुर देउवा तैयार भए। तर शेरबहादुर देउवाले समर्थकहरू जुटाउन पुष्पकमल  दाहालको नै भर गरे।

पुष्पकमल दाहाल प्रधानमन्त्री नहुँदा प्रधानमन्त्री थिए। तर प्रधानमन्त्री भए पछि उनी पनि प्रधानमन्त्री रहेनन्। ओली र देउवालाई प्रधानमन्त्री बनाउने मानिस पुष्पकमल दाहाल थिए। उनले नै पछिल्लो निर्वाचन पछि एमाले र माआवादी पार्टी मिलाएर साम्यवादीहरूको संयुक्त पार्टी र संयुक्त सरकार पनि बनाएका थिए। उनीहरू एकै ठाउँमा बस्न नसकेर सर्वोच्च न्यायालयले आ—आफ्नो पार्टीमा पठाइ दिए। प्रतिपक्षमा बसेको नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवालाई प्रधानमन्त्री हुन अनुरोध गरे। एउटा गठबन्धन पनि बनाइयो।

एउटा समय थियो जुन बखत पुष्पकमल दाहालले आफ्नो समर्थन दिएर जसलाई पनि प्रधानमन्त्री बनाउन सक्थे। सो कुरा उनी आफै प्रधानमन्त्री भइ सके पछि चरितार्थ रहेन। किनभने उनले आफुखुशी निर्णय गर्न सकेनन्। नेपाली काँग्रेस भएको गठबन्धन तोडेर एमाले अध्यक्ष केपी शर्माओलीको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले एमाले पार्टीलाई धोखा दिएकै हुन्। हुन त धोखाधडी गर्नेहरूको नै बोलबाला हुने यो व्यवस्था कै गुण हो।

आखिर यो व्यवस्था नै कुकुरको टाउको देखाएर खसीको मासु बेच्ने व्यवस्था हो भनेर पुष्पकमल दाहालले नै कतिपटक भनेका हुन्। भने पछि जनतालाई झुक्याउन सकिन्छ भने नेतालाई झुक्याउन नसक्ने कुरै भएन। त्यसैले पुष्पकमल दाहालका लागि धोखा दिनु कुनै ठुलो कुरा भएन।

हुन पनि काहाँ निर्वाचित राष्ट्रपति भएर प्रशासन चलाउने विश्वास लिएर हिंडेको मानिसलाई यो छद्मभेषी व्यवस्थामा काम गर्नु पर्दा असजिलो नै लाग्दछ। तैपनि यो व्यवस्था पसिसके पछि त्यहाँबाट उम्कन पनि मिलेन। त्यसकारण धोखा दिने धोखा खाने काम स्वाभाविक र सजिलो हो। सो कुरा नेपालका सबै नेताहरूले बुझे कै छन्। जनताले नबुझेर दुःख पाएका हुन्।

ओलीले कुनै  पनि दिन धोखा दिन्छन् भनेर पुष्पकमल दाहालले तुरन्तै धोखा दिने निर्णय गरेका हुन्। हुन पनि ओली सित साँठगाँठ गरेर बसिरहे दुई अढाई वर्ष मै प्रधानमन्त्रीत्व उसलाई छाड्नु पर्ने हुन्छ। छाडेर गयो भने पाँचै वर्ष सम्म प्रधानमन्त्री हुन पाइन्छ भने पछि छाड्नु नै पर्ने भयो।

हुन त केपी शर्मा ओली पनि धोखा दिन माहिर हुन्। चीनसित सबै किसिमको पारवाहन सन्धि गरे तर आफु प्रधानमन्त्री हुँदा त्यसको कुनै उपयोग गरेनन्। चीनिया रेल ल्याउने सम्झौता पनि भयो। तर पैसा कसले राख्ने भनेर विवाद खडा गरियो। बीआरआई अन्तर्गत अनेक सम्झौता भयो तर एउटा पनि आयोजना भएन। ओलीले चीनिया रेल आज ल्याउँछ कि भोलि भनेर हल्ला गरे। तर त्यो त्यतिकै सेलायो।

भारतले पनि ओलीबाट धोखा पाएको अनुभव गरे। कालापानी सम्बन्धी चुच्चे नक्सा निकाले। राष्ट्रवादको ठुलठुला कुरा गरे। तर सो भूभाग भारत कै अधिनमा छ र उसले चाहेको सडकहरू बनाउँदै छ। चुच्चे नक्सा त निकाले तर सो भूभाग फर्काउने कुनै कामकार्यवाही गरेनन्।

संयुक्त राष्ट्र अमेरिकाले पनि उनीबाट धोखा पाएको अनुभव गरे। एमसीसीमा पहिले देखि नै स्वीकृति दिएका थिए तर जब संसदमा यो सम्झौताको अनुमोदन गर्ने दिन आयो उनले आखिरी समय सम्म चुप लागेर बसे। एमसीसी उनकै पालोमा लागू भई सकेको थियो तर सो कुरा जनताले थाहा पाएनन्। नेपाल आज त्यो सम्झौताको भित्र छ या छैन भन्ने कसैले भन्न सक्दैन। अमेरिका भन्छ छ तर नेपाल भन्छ छैन। यसतो भ्रम फैलाउने काम उनै ओलीबाट भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको चुनावमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन राष्ट्रिय सहमतिको कुरा निकालेका हुन्। जुगाँ हल्लियो, कुरा बुझियो। नेपालीहरूले सुनेकै कथन हो। ओलीले कुरा बुझिहाले। तै पनि पुसमा मात्र भएको दाहाल—ओली सहमतिको ओलीले उल्लेख गर्दै गरे। राष्ट्रपतिको निर्वाचनकोलागि सुवास नेम्वाङ्गलाई अघि सारे। सम्झौता अनुसार नयाँ राष्ट्रपति एमालेले नै पाउनु पर्थ्यो।

एउटा सानो केटाले पनि बुझ्न सक्ने गरी धोखा दिएको तथ्यलाई नयाँ—पुरानो गठबन्धनका सदस्यहरूले नबुझ्ने कुरै थिएन। तर उनीहरूको दृष्टिमा धोखा दिनु, धोखा खानु यो व्यवस्था अन्तर्गत स्वाभाविक मानिन्छ। त्यसैले आखिरी समयसम्म दोधारे कुरा गर्न सिपालु भएका छन्। निर्वाचनको सिलसिलामा राष्ट्रपतिका उम्मेदवारहरू मत माँग्न जाँदा धेरैले के भनेको सुनियो भने पार्टीले निर्णय गरेर मात्र कसलाई मत दिने भन्ने निर्णय गर्ने हो। यसको माने हो गठबन्धनमा बसे पछि उसैको उम्मेदवारलाई मत दिने हो। यसको माने आठ दलको गठबन्धनका सदस्यहरूले रामचन्द्र पौडेल लाई मत दिने छन्।

तर केही दलहरूले यसको विपरित पनि जान सक्छन्। यस्तो संकेत पनि गरेका छन्। यसको माने हो एमालेका उम्मेदवार सुवास नेम्वाङ्ग पनि जित्न सक्छन्। यसको माने हो गठबन्धन कच्चा भएको छ। राजनीतिमा गठबन्धन गर्नु स्वाभाविक हो। तर सो गठबन्धनमा विश्वास नहुनु अराजनैतिक हो। सो काम प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको छ। किनभने उनले राष्ट्रपतिको निर्वाचन पहिले मन्त्रीमण्डल यथावत राख्ने भएका छन्। धोखेवाज व्यवस्थामा धोखा खानु कुनै अस्वाभाविक होइन। उनी सतर्क हुनु एक चेतनशील राजनीतिज्ञको लागि सुहाउने कुरा हो।

यसबाट एउटा कुरा स्पष्ट हुन्छ कि प्रधानमन्त्री पुष्पकमल दाहालले यो प्रधानमन्त्रीत्वको कालमा काम गर्न आएको भन्ने भनाई भनाई मात्र रहन्छ। काम केही हुँदैन। पासपार्ट लिने ठाउँमा भीड लागेकै छ। यातायातको लाइसेन्स लिने ठाउँमा भीड लागेकै छ। प्रधानमन्त्री बोल्दै गर्छन्, यो दलसित मिल्छन् धोखा दिन्छन्, अर्को दलको नजिक पुग्छन्। गजबको कुरा के छ भने यी सब गतिबिधि भएको देख्दा देख्दै पनि गणतन्त्र आयो, संघियता लागु भयो, ठुलो परिवर्तन भयो भनेर फलाक्न छाड्दैनन्। समावेशीले समाजको प्रतिनिधित्व भयो भनेर भन्न छाड्दैनन् र यही भनाईलाई सबैले पत्याएका छन् भनेर बसेका छन्। यसैबाट सत्तामा बसेका मानिसहरूलाई धोखा हुने छ।

पञ्चायत व्यवस्थाको विरोध २०४६ सालमा भएको थियो र केही दिन मै राजनैतिक परिवर्तन पनि भयो। त्यस बेला राजा बीरेन्द्रले सोधेका थिए, ‘खै, कहाँ गए ती पञ्चहरू जो पञ्चायत व्यवस्था संरक्षण गर्छु भनेर अगाडि देखापरेका थिए।’ त्यसैगरी कतै गणतन्त्रवादीहरूले पनि भन्न नपरोस्। धोखाले इमान्दारिता स्थापित हुन सक्दैन। धोखाले धोख्रै मात्र ल्याउँछ। यो कुरा सबैले मनन गर्नु पर्छ। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १ : ४१ बजे