६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

२० सेकेन्डको भिडिओले दिलाएको ख्याति



डडेलधुराकी पवित्रा साकीले गत वर्ष वैशाखमा घटालथान मन्दिरमा लागेको मेला हेर्न जाँदा आउँदा महसुस गरेको थकान सामाजिक सञ्जाल टिकटकमार्फत् सेअर गरिन्।

टिकटकमा उनले पोस्ट गरेको पहिलो भिडिओ जम्मा २० सेकेन्ड लामो थियो। तर दुई दिनमै उक्त भिडिओ झन्डै तीन लाख मानिसले हेरे।

कारण थियो सुदूरपश्चिम प्रदेशमा प्रयोग हुने बोलीचालीको डोटेली भाषाको प्रयोग।

हिँड्दा हिँड्दा मेरा खट्टा थागिगा: भिडिओमा उनले भनेकी थिइन्।

ख्याल ख्यालमै डोटेली भाषामा बनाइएको टिकटक भिडिओ एकाएक भाइरल हुन पुगेपछि उनले झन् धेरै टिकटक भिडिओ बनाउन थालिन्। बिस्तारै उनको चर्चा अनि ख्याति पनि बढ्दै गयो र डडेलधुराकी पवित्रा साकी मिस पबी भनेर चिनिन थालिन्।

बिस्तारै उनको चर्चा चुलिन थाल्यो। यति सम्मकी हाल उनले म्युजिक भिडिओ, धारावाहिक शृङ्खलादेखि विज्ञापन सम्ममा अभिनय गर्न थालेकी छन्।

आफ्नै गाउँ ठाउँमा बोलिने भाषा धेरैले रुचाउँदा आफूलाई अघि बढ्न हौसला मिलेको उनी बताउँछिन्।

डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाकी मिस पबी बोल्दा अनि सुन्दा ‘निकै मिठो’ लाग्ने डोटेली भाषामा समसामयिक विषयहरू समेटेर टिकटक बनाउँछिन् ।

उनले आफ्ना साथीभाइहरूबाट टिकटकबारे थाहा पाएकी थिइन्। एक वर्ष अघिसम्म उनको टिकटक अकाउन्ट थिएन। अरूकै टिकटक हेरेर रमाउने गर्थिन्।

‘’सायद मैले आफ्नै भाषा नबोलेको भए यति चर्चा हुँदैनथ्यो र कसैले पनि चिन्दैनथे होला,’’ मिस पबीले भनिन्। ‘’मलाई मेरै भाषाले चिनायो। त्यसैले डोटेली भाषाप्रति गर्व छ।‘’

सुदूरपश्चिमवासीहरू पनि उनले कमाएको ख्यातिप्रति खुसी रहेको आफूले अनुभूति गरेको उनको भनाइ छ।

विगतमा आफ्नो भाषा बोल्न लाज मान्नेहरूले हाल गर्व लाग्ने आफूलाई भन्ने गरेको उनी बताउँछिन्।

नेपालको सुदूरपश्चिममा बोलिने भाषा सुन्दा सुरुसुरुमा के यो नेपालकै भाषा हो भनेर समेत प्रश्न गर्ने गरेको अनुभव मिस पबीको छ।

उक्त क्षेत्रका एक जना अग्रज पत्रकार डीआर पन्त ठाउँ अनुसार डोटेली भाषाको लवज फरक भए पनि शब्द र त्यसको अर्थ भने एउटै हुने बताउँछन्।

‘’आफ्नै भाषामा धेरैले टिकटक बनाए पनि युवापुस्ताकी ‘ग्ल्यामर’ भएकाले मिस पबीलाई धेरैले मन पराएको पाइन्छ,’’ उनले भने।

पछिल्लो ११ महिनामा मिस पबीको जीवनमा थुप्रै परिवर्तन भएका छन्।

सुरुवाती चरणमा घाँस दाउरा काटेको, पशु चौपाया हेरेको अनि मल फालेको भिडिओहरू पोस्ट गर्ने उनी हाल नाचगान, रमाइला ठाउँहरूको बयान गर्नेदेखि सन्देशमूलक भिडिओहरूबाट प्रशंसा बटुल्दैछिन्।

मिस पबीको दिनचर्या अहिले निकै फेरिएको छ। म्युजिक भिडिओहरूमा अभिनयको प्रस्ताव उनका लागि नयाँ कुरा रहेनन्।

हालसम्म आफूले १५-१६ वटा म्युजिक भिडिओमा अभिनय गरिसकेको उनी बताउँछिन्। धारावाहिक शृङ्खलामा अभिनय गर्न थालेपछि टिकटक प्रयोगकर्ताबाहेक अरूले पनि चिन्न थालेको उनकी बताउँछिन्।

विभिन्न ठाउँमा हुने कार्यक्रममा जान भ्याइ नभ्याइ हुने अवस्थामा उनी छिन्।

आफूलाई रुचाउने सर्वसाधारणले सेल्फी अनि फोटो लिन इच्छा गर्दा कहिलेकाहीँ सास्ती खेप्नुपर्ने उनी सुनाउँछिन्।

डडेलधुरा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २३ वर्षकी मिस पबीलाई यो ठाउँसम्म आइपुग्न दर्शकका साथै घर परिवारको पनि उत्तिकै साथ देखिन्छ ।

उनको घरमा आमा, भाइ र बहिनी छन्। बुबा सेफको रूपमा अस्ट्रेलियामा कार्यरत छन् भने आमा घरायसी काम गर्छिन्।

भारतको मुम्बईमा लामो समय काम गरेर उनका बुवा तीन महिनाअघि अस्ट्रेलिया पुगेका थिए।

टिकटकबाट निकै ख्याति कमाएको भए पनि त्यसबाट पैसा कमाउन भने नसकेको मिस पबीको भनाइ छ।

म्युजिक भिडियोबाट हुने आम्दानीले उनको दैनिक चलिरहेको छ।

आफूले कमाएको ख्यातिलाई सक्दो सदुपयोग गर्ने उनको सोच छ। आफ्नै यूट्यूब च्यानल अनि ब्लगमार्फत् डोटेली भाषा अनि गाउँ ठाउँलाई प्रवर्द्धन गर्ने योजना उनले बताएकी छन्। बीबीसी

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ११ : ४९ बजे