देवेन्द्र जमरकट्टेल,
सोलुखुम्बु, नेचासल्यान गाउँपालिका
म उभिएकाे पहाडकाे टाकुरामा
कुहिराे कुदेर आउँछ ।
हृदय शीतल बनाउँछ ।
तिमीसँगकाे भेट सम्झाएर जान्छ ।
मुस्कान र माधुर्यताकाे समीप त्याे
सम्झाएर जान्छ ।
छुट्ने वेला टिल्पिलाएका आँखा
झरीका थाेपाहरू झै प्रवाहित छन्
जसरी झरी
वाफ बन्छ
बादल बन्छ
र बर्षीन्छ ।
तिम्रो यादहरू त्यसरी नै प्रेमिल हुन्छन् ।
शीतल हुन्छन् ।
सदावहार हुन्छन् ।
मलिन मुहारमा देखिने निर्दाेष प्रेम जस्ताे ।
हृदयकाे अन्तरमा अहिले पनि पुजिएकाे देवता जस्ताे ।
तिम्रो हृदयकाे विराट रारा भर्न
परेकाे छ याे झरी ।
तिमी झरीसँग खेल्न चाहाना राख्छौ
समातेर मेराे हात ।
रहरका अनेक तरेलीमा
चिम्लिएर मृग नयन ।
याे झरीले कापेकाे तनलाई
न्यानाे बनाउन चाहान्छौ
मेराे समीप उभिएर
मुस्कुराउन चाहान्छौ ।।
हाे ,
आउ रहरहरूकाे बाँध ताेडेर तिमी
म उभिएकाे पहाडकाे टाकुरामा ।