९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

लिखु हाइड्रोको ज्यादतीविरुद्ध स्थानीयले थाले धर्ना


९ आश्विन २०८१, बुधबार  

192
Shares

सोलुखुम्बु । सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भएर बग्ने नदी लिखुमा निर्माणाधीन जलविद्युत आयोजनाको निर्माण कम्पनी एमभी दुगड ग्रुपको ज्यादतीविरुद्ध स्थानीयहरूले धर्ना थालेका छन् ।

आयोजनाबाट प्रताडित स्थानीयको माग सम्बोधन र वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनमा भएका सम्झौता कार्यान्वयनका लागि पटक पटक ध्यानाकर्षण गराउँदा समेत निर्माण कम्पनीले बेवास्ता गरेका भन्दै लिखुपिके हाइड्रोपावर पीडित नागरिक सङ्घर्ष समितिले किन्जास्थित कार्यालयमा धर्ना सुरु गरेका छन् ।

यसअघि आन्दोलनका लागि हाइड्रोपावर पीडित सम्पूर्ण स्थानीय बासी सदस्य रहने गरी कैलाश बस्नेतको अध्यक्षतामा हाइड्रोपावर पीडित नागरिक सङ्घर्ष समिति गठन गरिएको थियो । समितिले लिखुपिके गाउँपालिकाको वडा नं ५ स्थित पाताल र दोभान डाँडा खण्डको रुबाट ुहावट भएको पानीले जमिन भासिएर ७० घरधुरी विस्थापित हुन लागेको भन्दै उनीहरूको ज्यानको सुरक्षा र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखिएको छ ।

तीन वटा हाइड्रो अन्तर्गत १६० मेगावाट बिजुली निकाल्न निर्माण कम्पनीले लिखु खोलाको प्रयोग गरे बापत कानुनतः स्थानीय बासीले प्राप्त गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्तरगतका भएका कामहरूको विवरण पारदर्शी र सार्वजनिक सुनुवाइ गर्नुपर्ने, प्रभावित स्थानीयले पाउनुपर्ने शेयर तत्काल उपलब्ध गराउनु पर्ने लगायतका माग अघि सारेको सङ्घर्ष समितिका सहसचिव पोस्टकुमार कार्कीले जानकारी दिए ।

हाइड्रोबाट उत्पादित बिजुली प्रभावित क्षेत्र सोलुखुम्बुको लिखुपिके र रामेछापको उमा कुण्ड गाउँपालिकाका स्थानीयलाई निःशुल्क र कम्तीमा ५०० कित्ता साधारण सेयर उपलब्ध गराउनुपर्ने, नुम्बुर हिमालय हाइड्रोपावरले तत्काल लेखा परीक्षण गराउनुपर्ने र हाइड्रो निर्माणका क्रममा समस्यामा परेका स्थानीयको माग तत्काल सम्बोधन गर्नुपर्ने माग सङ्घर्ष समितिले जनाएको छ । 

धर्नाको विषयमा लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले हाइड्रोको लापरबाही प्रति आपत्ति जनाउँदै तत्काल नागरिकहरूको मागलाई सम्बोधन गर्न आग्रह गरेकी छिन् ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ११ : २३ बजे