३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

गार्मा माध्यमिक विद्यालयले तोक्यो कक्षागत अधिकतम विद्यार्थी सङ्ख्या


२५ चैत्र २०८१, मंगलबार  

16
Shares

सोलुखुम्बु । सोलु दुधकुण्ड नगरपालिका ७ गार्मामा सञ्चालित जिल्लाकै उत्कृष्ट मध्यको एक सामुदायिक विद्यालय गार्मा माध्यमिक विद्यालयले भर्ना अभियान लक्षित गरी कक्षा १ देखि ९ सम्म कक्षागत अधिकतम विद्यार्थी सङ्ख्या र विद्यार्थी भर्नाका लागि रिक्त सङ्ख्या निर्धारण गरेको छ ।

मङ्गलवार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले कक्षागत अधिकतम विद्यार्थी सङ्ख्या तोक्दै नयाँ भर्ना लिन सकिने सङ्ख्या समेत सार्वजनिक गरेको छ । कक्षा १ मा ‘ए’ र ‘बि’ गरी दुई सेक्सन चलाएको विद्यालयले ४०–४० अधिकतम कक्षागत विद्यार्थी सङ्ख्या तोकेको छ ।

कक्षा २ र ३ मा ४०–४० जना विद्यार्थीको सङ्ख्या तोकिएको छ भने कक्षा ४ देखि ९ सम्म अधिकतम कक्षागत विद्यार्थी सङ्ख्या ४८ जना तोकिएको छ । यद्यपि, कक्षा २ मा ४ जना, कक्षा ७ मा ४ जना र कक्षा ८ मा ३ जना नियमित विद्यार्थी नै बढी रहेका छन् । सो कक्षामा नयाँ भर्ना नलिने विद्यालयका प्रधानाध्यापक विनोद सिंह तामाङले जानकारी दिए ।

अन्य कक्षा १ ‘ए’ मा ९, कक्षा १ ‘बि’ मा ५, कक्षा ३ मा एक, कक्षा ४ मा ९, कक्षा ५ मा १२, कक्षा ६ मा २ र कक्षा ९ मा १६ जना विद्यार्थीलाई नयाँ भर्ना लिन सकिने विद्यालयले जारी गरेको सूचनामा उल्लेख छ । विद्यालयले २०८२ को भर्ना अभियानमा विभिन्न कक्षामा जम्मा ५५ जना विद्यार्थी भर्ना गराउनेछ ।

जिल्लाकै नमुना विद्यालय भएकै कारण पनि नयाँ भर्ना हुने विद्यार्थीको सङ्ख्या थेग्न गाह्रो हुने भएकाले व्यवस्थापन समिति मार्फत अधिकतम कक्षागत विद्यार्थी सङ्ख्या र कक्षागत रिक्त विद्यार्थी कोटा निक्यौल गरी अघि बढेको विद्यालय प्रशासनले जनाएको छ ।

गुणस्तरीय शिक्षा प्रदानका लागि विद्यालयको शिक्षक दरबन्दी र भौतिक संरचनाको आधारमा कक्षागत कोटा निर्धारण गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताए ।

विद्यालयमा सुस्त श्रवण कक्षा, माध्यमिक तहमा बाली विज्ञान, कक्षा ११ र १२ मा विज्ञान सङ्काय र अङ्ग्रेजी माध्यममै पठनपाठन गराउँदै आएको छ । गार्मा मावि २०७९ को एसइईमा जिल्ला प्रथम र २०८० सालको एसइईमा नगर प्रथम बनेर पुरस्कृत बनेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ३ : ४३ बजे