सोलुखुम्बु। जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकाद्वारा मनोनीत प्राज्ञ संयोजक तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । पालिकाको स्थानीय भाषा, साहित्य, कला, संस्कृति, रितिरिवाज, नाट्य, संगीत क्षेत्रको संरक्षण, प्रवर्द्धन र संवर्द्धनका लागि स्थापना भएको थुलुङ दुधकोसी प्रज्ञा प्रतिष्ठानका मनोनित प्राज्ञ संयोजक तथा प्राज्ञ सदस्यहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन ।
बिहिबार थुलुङ दुधकोसी गाउँपालिकाको कार्यालयले आयोजना गरेको शपथ ग्रहण समारोहमा गाउँपालिकाका अध्यक्ष असिम राईले प्रतिष्ठानका प्राज्ञ संयोजक सुवास संगम राई, प्राज्ञ सदस्यहरू धन्दीराम राई, मिनप्रसाद कोईराला, विमला राई, सुवास सुसेली राई, शम्भु निरौलालाई शपथ ग्रहण गराउनुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

गाउँपालिकाबासीहरूको मौलिक हकको सुनिश्चितता, वार्षिक योजना तथा कार्यक्रमको समयमै सम्पन्नता, पूर्वाधार तथा भौतिक निर्माणमा गाउँपालिकाले उल्लेख्य सफलता हासिल गरेको स्मरण गराउँदै पालिका अध्यक्ष राईले अब गाउँपालिकाले स्थानीय तथा मौलिक साहित्य, कला, संस्कृति, नाट्य, संगीत क्षेत्रको समेत संरक्षण र सम्वर्द्धन गर्न ठोस योजना सहित अघि अढ्ने बताए ।

उनले प्रतिष्ठानका समितिलाई कार्यक्रममा मात्र सिमित नभई आगामी नीति तथा कार्यक्रममा समेत गाउँपालिकाको समग्र बौद्धिक सम्पत्ति संरक्षण तथा सम्वर्द्धन सँगै मार्गदर्शनसमेत गर्न सक्ने गरि कार्य गर्नहुन शुभकामना समेत दिए । उक्त शपथ ग्रहण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता राई, प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदिप राई, विभिन्न वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


























