१ जेष्ठ २०८२, बुधबार | Thu May 15 2025

घिरिङ गाउँपालिकामा कोल्ड स्टोर सञ्चालनमा, आलु भण्डारण सुरु



तनहुँ । जिल्लाको तनहुँ गाउँपालिका १ मोहनचौरमा कोल्ड स्टोर सञ्चालनमा ल्याइएको छ । 

गाउँपालिका र प्याक्ट परियोजनाको दुई करोड १५ लाखको लगानी साझेदारीमा निर्माण गरिएको कोल्ड स्टोर मङ्गलवारदेखि सञ्चालनमा ल्याइएको हो । परीक्षणका लागि वडा नं १ का कृषकले उत्पादन गरेका आलु भण्डारण गर्न थालिएको छ । 

कोल्ड स्टोर सञ्चालनमा आएपछि यसअघि बिउ आलु भण्डारणका लागि भैरहवा, पोखरा लगायतका सहरमा लैजानु पर्ने बाध्यताको अन्त्य हुने भएको अगुवा कृषक राम प्रसाद श्रेष्ठले बताए । 

कृषकको समस्या समाधानका लागि स्थानीय सरकारको पहलमा स्रोत व्यवस्थापन गरी कोल्ड स्टोर निर्माणले मुर्त रूप लिएको वडाध्यक्ष रविचन्द्र घोरासिनीले बताए । उनले भने, ‘कोल्ड स्टोरको दिगो सञ्चालनका लागि स्थानीय सरकार प्रतिबद्ध छ । कृषकहरूको सुविधा र उत्पादनमा प्रोत्साहनका लागि पनि दिगो सञ्चालनमा पालिकाले नेतृत्वदायी भूमिका खेल्नेछ ।’

कोल्ड स्टोर सञ्चालनका लागि आवश्यक इन्धन खर्च पालिकाले व्यवस्थापन गर्ने छ भने सञ्चालनको जिम्मा उर्भरा कृषि सहकारी संस्थाले लिएको छ । सहकारीका अध्यक्ष केशव राज पोखरेलले कोल्ड स्टोरको परीक्षणको लागि आलु भण्डारण सुरु गरिएको बताए । उनले भने, ‘हेरालु, प्राविधिक लगायतका खर्च सहकारीले व्यवस्थापन गर्नेछ । कृषक, सहकारी र स्थानीय सरकारको संयुक्त प्रयासले कोल्ड स्टोर दिगो रूपमा सञ्चालनमा आउने आशा गरिएको छ ।’

घर आँगनकै सञ्चालनमा आएको कोल्ड स्टोर दिगो सञ्चालन हुन सके आलु भण्डारणमा सहजताका साथै उत्पादनमा समेत ऊर्जा मिल्ने कृषि सरोकारवालाहरूको बुझाई छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ११ : ०७ बजे