काठमाडौँ । केही महिना देखि विशेषज्ञ सहितको सेवा प्रदान गर्दै आएको सोलुखुम्बुको महाकुलुङ आधारभूत अस्पतालले दन्त सेवा पनि प्रदान गर्ने भएको छ ।
भोली शनिवारदेखि सेवा प्रदान गर्ने गरी दन्त चिकित्सक व्यवस्थापन गरिसकिएको स्वास्थ्य शाखा प्रमुख हरि आचार्यले जानकारी दिए । भोलिबाट दन्त सेवा सुरु गर्ने गरी वि.डी.एस. डा. सरिता श्रेष्ठ शुक्रवार महाकुलुङ पुग्ने र शनिवारबाट दन्त रोगको उपचार सेवा सुरु गर्ने आचार्यको भनाइ छ ।
यो सेवा दुधकोशी पारीका क्षेत्र सोताङ र महाकुलुङ क्षेत्रका लागि पहिलो हो । अबदेखि महाकुलुङ र सोताङका नागरिकले महाकुलुङ आधारभूत अस्पतालबाटै दाँतको आरसिटी गर्ने, दाँत फुकाल्ने, नयाँ लगाउने, चम्काउने, गिजा सम्बन्धी समस्याको उपचार लगायतका सेवा प्राप्त गर्ने छन् ।
दन्त सेवा सञ्चालन पछि त्यस भेगका दाँत र गिजाको समस्या भोगेका व्यक्तिहरू प्रत्यक्ष लाभान्वित हुने महाकुलुङ गाउँपालिका प्रमुख सूर्य बहादुर कुलुङले बताए । महाकुलुङ आधारभूत अस्पतालमा हाल एक विशेषज्ञ सहित ३ जना चिकित्सक कार्यरत छन् ।
पालिका भित्र स्वास्थ्य उपचारको अवस्था मजबुत बनाउनका लागि स्थानीय स्तरमा क्रियाशील र इच्छुक सङ्घ संस्थाहरूले स्वास्थ्य शाखासँग समन्वय गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङ राईले आग्रह गरेका छन् ।