काठमाडौँ । सहिद स्मारक बी डिभिजन लिग अन्तरगतको सरस्वती युवा क्लब सँग विवादित खेलको अङ्क नयाँ बस्ती युवा क्लबले प्राप्त गरेको छ ।
चैत्र ७ गतेको १४ औँ खेलमा सरस्वती युवा क्लबले टुसाल यूथ क्लबमा अनुबन्ध खेलाडी धिरेन्द्र बहादुर शाहलाई रिलिज पेपर विनै खेलाएको भन्दै विरोध पत्र माथि अनुसन्धान गर्दा अनुशासन समितिले जित उल्ट्याउँदै ३ अङ्क नयाँ बस्ती युवा क्लबलाई दिने निर्णय गरेको हो ।
अखिल नेपाल फुटबल सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शाहले रिलिज पत्र विनै खेलेको र सरस्वती युवा क्लबले पनि रिलिज पत्र विनै अनुबन्ध गरी खेलाएको देखिएकाले सहिद स्मारक बी डिभिजन लिग प्रतियोगिता नियमावली २०८१ के परिच्छेद २ को नियम २६ आकर्षित हुने ठहर गर्दै सोही नियमावलीको नियम १९ अनुसार अनुशासनको कारबाही गर्न उपयुक्त देखिएकाले १४ औँ खेलको नतिजा नियमावलीको परिच्छेद २ अनुसार अङ्क निर्धारण गर्ने गरी खेलको सुरुको नतिजा रद्द गर्दै नयाँ बस्ती युवा क्लबको पक्षमा ३–० को गोलको नतिजा दिने निर्णय गरियो ।’ यो निर्णय सँगै नयाँ बस्ती युवा क्लबको अङ्क ८ पुगेको छ ।
अनुशासन समितिको निर्णय अघि नै एन्फाले शाहलाई बी डिभिजन लिगका बाँकी खेल खेल्न नपाउने गरी निलम्बन गरिसकेको छ । यद्यपि, खेलाडी शाह भने निलम्बन फुकुवाको अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटन पुगेका छन् ।

