ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ । आज बिहान ५ बजेतिर ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० सेवारो चोकनजिकै उक्त दुर्घटना भएको हो ।
सदरमुकामबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ ज ३०११ नम्बरको बोलेरो जिपमा करेन्ट लागेको हो । बिजुलीको पोल लत्रेर जिपमा करेन्ट लागेको जनाइएको छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा परी चालकसहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक दुर्गा भट्टराईको मात्र पहिचान खुलेको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा परी घाइते भएका दुई जनालाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप विवरण भने आइसकेको छैन ।

























