३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

१७ सय मूल्य पर्ने बाँसको कुर्सीबाट जनताको सेवा



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय बाँसबाट निर्मित कुर्सीमा बसेर दैनिक सेवा प्रवाह गर्दै आएका छन् । तत्कालीन गठबन्धनबाट निर्वाचित उनी नेपाली काँग्रेसका नेता हुन् ।

आफू निर्वाचित भएको करिब २ हप्ताको अवधिमा प्रमुखको कार्यालयमा रहेको करिब ५२ हजार पर्ने कुर्सीलाई पाखा लगाउँदै बाँसबाट बनेको कुर्सीमा बस्न थालेका हुन् । उनको भनाइलाई आधार मान्ने हो भने अहिले उनी बस्ने कुर्सीको मूल्य जम्मा १७ सय हो । करिब ६ लाखका आयातित सामग्रीलाई पन्छाएर स्थानीय सीप र स्रोत साधनलाई आत्मसाथ गरेका मेयर भट्टराईको कार्यकक्षमा एक लाख १७ हजारका बाँसका सामग्रीबाट बनेका कुर्सी, दराज देखि बस्ने सोफासम्म रहेका छन् ।

उनी भन्छन्, स्थानीय स्रोतसाधनको उपयोग र सीपको सम्मानका लागि बोली र व्यवहारमा एकरूपता देखाएको हुँ । नगरपालिकाको आयोजनामा २०८१ फागुन १५ देखि १७ सम्म दिक्तेलमा प्रथम बाँस सम्मेलनको आयोजना गर्दै बाँस, त्यसका सामग्री र आयआर्जनका सम्भावना बारे सन्देश प्रवाहको काम गरिएको थियो ।

सम्मेलन अघि कीर्तिपुर विश्वविद्यालयका प्रा. डा. रामेश्वर अधिकारी नेतृत्वको विज्ञ टोलीले गरेको अनुसन्धानबाट नगर क्षेत्रमा १७ प्रकारका बाँस पहिचान गरेको थियो । हाल नगरले बाँसका व्यावसायिक सामग्री उत्पादनका लागि तालिम समेत सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  ४ : १५ बजे