काठमाडौँ । सुटमालाका सिइओ राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट युवा व्यवसायी सम्मानबाट सम्मानित भएका छन् । शनिवार राजधानीमा आयोजित कार्यक्रममा युवा व्यवसायी सम्मानबाट कार्की सम्मानित भएका हुन् । नेपालभरिका टेलरिङ क्षेत्रको प्रतिनिधित्व गर्दै कार्कीलाई सम्मानित गरिएको हो ।
राज कार्की नेपाली सिलाई उद्योगमा सङ्घर्षरत र प्रेरणादायी युवा उद्यमी हुन् । जसले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढङ्गबाट अगाडी बढाइरहेका छन् । उनले विगत ७ वर्षदेखि सञ्चालन गरिरहेको बागबजारस्थित सुटमाला आधुनिक, वातावरणमैत्री र नवीनतम सोच बोकेको ब्रान्ड हो ।
कार्कीले टेलरिङ क्षेत्रलाई केवल लुगा सिलाउने क्षेत्र मात्र नभई उद्यमशीलताको एक स्कुलका रूपमा स्थापित गर्न चाहन्छन् । उनको विचारमा दर्जी व्यवसायले नाफा मात्र नभई आत्मनिर्भरता, सिर्जनात्मकता र नेतृत्व क्षमता विकासको मान्यतालाई अगाडी सारेको छ ।
स्वदेशमा नै लगानी सुनिश्चित गरी उद्यमशीलताको प्रवर्द्धन गर्ने तथा मुलुकमा रोजगारी सिर्जनामार्फत स्वाधीन आत्मनिर्भर, उन्नतशील, समुन्नत र संवृद्धि अर्थतन्त्र निर्माणका लागि पुर्याएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै युवा व्यवसायी सम्मान प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा कार्की लगायत अन्य दस जना विभिन्न क्षेत्रका व्यवसायीहरू सम्मानित भएका हुन् । स्वदेशमा लगानी, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनामा अतुलनीय योगदानको कदर स्वरूप उक्त सम्मान प्रदान गरिएको हो ।
राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागले कार्यक्रमको आयोजना गरेको हो । विभागका प्रमुख कुवेर अधिकारीले स्वदेशमा रहेर लगानी तथा उद्यमशीलतामा सक्रिय युवाहरूलाई थप ऊर्जा प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित उद्यमीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । ‘मिहिनेत र लगनशीलताले मानिसलाई सफलता दिन्छ ।’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘काम र अनुभवले मानिसले नेतृत्वमा पुर्याउँछ ।’

























