काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुका नागरिकको मुख स्वास्थ्यलाई प्राथमिकतामा राखेर पालिका–पालिकामा निःशुल्क दन्त शिविर सञ्चालन गरिरहेको सोलुखुम्बु डेण्टलले जेठ ३ र ४ गते (शनिवार र आइतबार)खुम्बु पासाङल्हमू गाउँपालिकामा शिविर सम्पन्न गरेको छ ।
सोलुखुम्बु डेण्टल र गाउँपालिकाको आयोजना तथा वडा नं १ कार्यालयको समन्वयमा खरिखोला आधारभूत अस्पतालमा सम्पन्न शिविरबाट २११ जना खुम्बुले नागरिक लाभान्वित भएका छन् । जसमध्ये ६५ जनाले दाँत निकालेका छन् भने ७४ जनाले दाँत भरेका छन् । ६२ जनाको दाँत सफा र १० जनाको सामान्य परीक्षण गरिएको सोलुखुम्बु डेन्टलका सञ्चालक केवि घिमिरेले जानकारी दिए ।
गत वैशाख ६ र ७ गते माप्य दुधकोशीमा शिविरको आयोजना गरिएको थियो । जहाँ ३ सय बढी सर्वसाधारणको दाँतको उपचार गरिएको थियो । एक नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लामा सर्वसाधारणहरू दाँतको समस्याबाट प्रताडित हुन नपरोस् भन्ने धेयले स्थानीय सरकारको समन्वयमा निःशुल्क दन्त शिविर सञ्चालन गर्दै अघि बढ्ने सञ्चालक घिमिरेको भनाइ छ ।
स्थापनाको छोटो अवधिमै मुख स्वास्थ्यलाई प्राथमिकतामा राखेर सोलुखुम्बु डेन्टल गाउँ प्रवेश गरेको हो । सञ्चालक घिमिरे भन्छन्, ‘नागरिक सेवालाई अग्र भागमा राखेर हरेक पालिका र वडा तहसम्म पुग्ने तयारीमा छौँ ।’

























