सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाको स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।
सोलुदुधकुण्ड नगरपालिका र गैर सरकारी संस्था पाइला पाइलाको आशाको संयुक्त लागत साझेदारीमा निर्माण हुने उक्त भवनको सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले शिलान्यास गरेका हुन् ।
कार्यक्रममा गैर सरकारी संस्था पाइला पाइलाको आशाको प्रमुख डा. पासाङ काजी लामा, नगरपालिकाका जनप्रतिनिधि, स्थानीय समाजसेवीहरू, संस्था प्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले नगर क्षेत्रमा स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखी विभिन्न योजनाहरू अगाडि बढाइरहेको बताउँदै भवन निर्माण कार्य छिटो सम्पन्न गरी सेवा प्रवाहमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
नयाँ भवन आधुनिक संरचना अनुसार निर्माण हुने र मातृ तथा शिशु स्वास्थ्य सेवा, नियमित उपचार, खोप सेवा लगायतका सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
भवन एक करोड चौध लाख एकानब्बे हजार लागतमा निर्माण सम्पन्न हुने छ।

























