३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापालसहित तीन मिडिया संचालकविरुद्ध मुद्धा दायर


२१ जेष्ठ २०८२, मंगलबार  

4
Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोईलाडी गाउँपालिकाको टेण्डरको विज्ञापनमा बिभिन्न पत्रपत्रिकासँग मिलेर अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव र सह-लेखापाल शत्रोहन दाससहित तीन मिडियाका संचालकविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव र सह-लेखापाल दाससहित टाइम्स रिपब्लिक मिडियाका भूषण कुमार सिंह, डच मिडियाका निर्देशक रवि अर्याल र प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्ण बहादुर कार्कीविरुद्ध ३ लाख १६ हजार ४१० अनियमिता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

अख्तियारले आपसी मिलोमतो तथा योजनामा आफूहरुलाई गैरकानूनी लाभ तथा तिलाठी कोईलाडी गाउँपालिकालाई हानि पुर्‍याउने बदनियतले उक्त बोलपत्र आव्हान र आशयको सूचना लुकाई छिपाई, सार्वजनिक रुपमा प्रकाशन नगरी नगराई ठेक्का प्रयोजनार्थ अभिलेखमा राख्ने गरी सौर्य राष्ट्रिय दैनिक पत्रिकामा बोलपत्र आह्ववानको सूचना र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना एक/एक प्रति मात्र प्रकाशित गरेको, उल्लेखित मितिमा प्रकाशित भनिएका सूचनाहरु प्रेस काउन्सिल नेपालको मिति २०७९ चैत २३ को पत्र अनुसार प्रकाशन भएको नदेखिएको पाइएको उल्लेख गरेको छ ।

अख्तियारले सूचनाको विवरण लुकाउने मनसायसाथ सार्वजनिक तवरमा वितरण प्रयोजनार्थ प्रकाशित नै नगरेको सौर्य दैनिक पत्रिकाको सक्कल भनिएको पत्रिकाको प्रति साथै राखी झुट्टा विल भरपाई लगायतका कागजातहरुको आधारमा तीन लाख १६ हजार ४१० टाईम्स रिपब्लिक मिडिया प्रा.लि.लाई भुक्तानी दिएको, टाईम्स रिपब्लिक मिडिया प्रा.लि.ले बोलपत्र र आशयको सूचना प्रकाशनको लागि डच मिडिया प्रा.लि.लाई मौखिक दिएको र डच मिडिया प्रा.लि.ले उक्त सूचना प्रभाव दैनिकका प्रबन्ध निर्देशकलाई प्रकाशन गर्न दिई भुक्तानी लिएको पुष्टि भएको जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ६ : २१ बजे