३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सार्वजनिक यातायात बन्दको विरोधमा सर्वोच्चमा मुद्धा दायर, बुधबार सुनुवाई


२१ जेष्ठ २०८२, मंगलबार  

8
Shares

काठमाडौँ । सार्वजनिक यातायात बन्दको विरोधमा सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ ।

अधिवक्ता विमल पोखरेलले मंगलबार गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । यस रिटको बुधबार प्रारम्भिक सुनुवाइ हुने बताइएको छ । रिटमा सार्वजनिक यातायातलाई अत्यावश्यक सेवा क्षेत्रअन्तर्गत हड्ताल गर्न नपाइने कानुनी व्यवस्थाको उल्लंघन भएको जिकिर गर्दै तत्काल सेवा सञ्चालनका लागि अन्तरिम आदेशको माग गरिएको छ ।

जेठ १९ गतेदेखि जारी बन्दले विद्यार्थी, बिरामी, कर्मचारी, शिक्षक लगायत सर्वसाधारणको आवतजावतमा गम्भीर कठिनाइ उत्पन्न भएको र यसले संविधानप्रदत्त आवतजावत, पेसा र रोजगारीको मौलिक हकमाथि नै प्रहार गरेको रिटमा दाबी गरिएको छ ।

नेपाल सरकारले २०८० मंसिर २८ गते राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक यातायातसहित २५ क्षेत्रलाई अत्यावश्यक सेवा घोषणा गर्दै हड्ताल निषेधित गरेको तथ्यलाई आधार बनाउँदै, भविष्यमा समेत यस्ता अत्यावश्यक सेवाहरूमा हड्ताल गर्न नपाइने गरी परमादेश जारी गर्न पनि रिटमार्फत माग गरिएको छ ।

सोमबार राती सरकार र यातायात व्यवसायीबीच सहमति भएपनि व्यवसायीले सहमति कार्यान्वयन नभएसम्म बन्द फिर्ता नलिने अडान लिएका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ६ : ३९ बजे