३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

दिनेश र निर्मलादेवीको जादुमय स्वरमा ‘तारेमाम तारेमाम’


२३ जेष्ठ २०८२, बिहिबार  

2
Shares

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा एउटा नयाँ रचनाले चर्चा बटुल्दैछ, गीतको नाम हो ‘तारेमाम’। सांस्कृतिक सुगन्ध, प्रेमिल दृश्य र मिठो लयले भरिएको यस गीतको भिडियोले सामाजिक सञ्जालमा छोटो समयमा नै उल्लेखनीय लोकप्रियता हासिल गरिरहेको छ।

गीतमा देखिएका अभिनेता पल शाह र नायिका नारायणी खत्रीको रसायनले दर्शकको मन जितेको छ। युट्युब, फेसबुक र टिकटकमा यो भिडियो भाइरल बन्दै गएको छ, जहाँ दर्शकले ‘यस वर्षको उत्कृष्ट सांस्कृतिक दोहोरी गीत’ भन्दै प्रशंसा गरेका छन्।

‘तारेमाम’ गीतको विशेष पक्ष भनेको नेवारी भाषा, भेषभूषा र संस्कृतिको प्रस्तुति हो। शब्दकार नेत्र अर्यालले गीतका हरफहरूमा नेवारी भाषाका विभिन्न शब्दहरू प्रयोग गरेका छन् — ‘तारेमाम’ जस्तै मिठा शब्दहरूले मात्र नभएर, गीतमा बोलिने शैली, भाव र रङ्गले पनि नेवारी संस्कृतिको सुगन्ध फैलिएको छ।

गीतको भिडियोमा पल शाह र नारायणी खत्रीलाई नेवारी पोशाकमा प्रस्तुत गरिएको छ। उनीहरूको प्रेमकथा होटलको परिवेशभित्रै विकसित भएको छ, जसले दर्शकलाई परम्परागत शैलीमा आधुनिक प्रेम देख्ने अवसर दिएको छ।

यो गीतका गायक हुन् – हिमालयन होटलका सञ्चालक तथा उद्यमी दिनेश उडाय, जसले पहिलोपटक दोहोरी गायनमा हात हालेका हुन्। दिनेश उदयको स्वरमा आत्मीयता र स्पष्टता छ, जुन संगीतकार खेम सेन्चुरीले रचना गरेको लयमा निकै राम्रोसँग मेल खाएको छ।

उनीसँग सहगायन गरेकी छन् निर्मला देवी बस्नेत। पछिल्लो समय चर्चामा रहेकी गायिका निर्मलाको स्वर सुमधुर मात्र होइन, भावपूर्ण पनि छ। यसअघि उनले गाएको ‘तिमीलाई पछेउरी किन्दिउला’ गीत करोड क्लबमा प्रवेश गरेर चर्चा कमाएको थियो। ‘तारेमाम’ उनको अर्को सशक्त प्रस्तुति बन्ने देखिएको छ।

गीतको निर्माता पृथ्वी इन्टरटेन्मेन्टका सञ्चालक पृथ्वी थकाली हुन्। उनले पछिल्ला केही वर्षदेखि नेपाली मौलिक संगीतमा लगानी गर्दै आएका छन्। तारेमाम गीतले पनि पृथ्वी इन्टरटेन्मेन्टको सांस्कृतिक संगीतप्रतिको समर्पणलाई पुष्टि गरेको छ।

निर्देशन मौषम हिमालीले गरेका छन्, जसले छायांकन, प्रकाश, कथा र रंग संयोजनमा आफ्नो अनुभव झल्काएका छन्। विशेषगरी होटलको भव्यता, भेषभूषा, चरित्रको रसायन र कथाको बहाव सँगसँगै अघि बढाइएको छ।

पल शाहको दमदार अभिनय र नारायणी खत्रीको नारीत्वले सजिएको यो प्रेम कथा दर्शकलाई सादगी र सौन्दर्यको बीचको मधुर सन्तुलनमा पुर्‍याउँछ। उनीहरूको आँखा–आँखाको संवाद, मौन हाँसो, र नेवारी भेषमा देखिएको रसायनले दृश्यहरूलाई भावनात्मक बनाएको छ।

लोकसंगीतमा फ्युजन, व्यावसायिकता र प्रविधिको युगमा पनि ‘तारेमाम’ जस्तो मौलिक प्रस्तुति दर्शकका लागि ताजगीको अनुभूति हो। यस गीतले नेपाली लोक संस्कृतिको बहुजातीय समावेशीकरणलाई सम्मान गरेको छ, जसले सांगीतिक एकता र संस्कृति संरक्षणमा टेवा पु¥याएको छ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, बिहिबार  ५ : १९ बजे