सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मालाई जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।
बालमैत्री स्थानीय शासन घोषणा २०७९ मा उल्लेख गरिएको सूचकाङ्क पुरा गरेपछि यही जेठ २९ गते बिहीबार गार्मा माध्यमिक विद्यालयमा आयोजना गरिने एक समारोहका बिच जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला र नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले संयुक्त रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने कार्यक्रम तय गरिएको वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिए ।
सत प्रतिशत जन्म दर्ता, खोप र विद्यालय भर्नाजस्ता कार्यक्रम सफल भएको, बालविवाह, गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टाटीविरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनुपर्ने, एक वर्षभित्रका बालबालिकालाई पूर्ण खोप, सबै घरपरिवारमा आयोडिनयुक्त नुन, कम तौल, पुड्को र ख्याउटेपन हुने बालबालिकाको सङ्ख्यामा कमी हुनुपर्ने, सबै घरधुरीमा खानेपानी, शौचालय, अनिवार्य जन्म दर्ता, बालविवाह मुक्त क्षेत्र भएको हुनुपर्ने व्यवस्था छ ।
त्यस्तै, बालबालिकाविरुद्ध हुने हिंसा, बेचबिखन, शोषण, दुर्व्यवहारमा कमी आएको हुनुपर्ने, सामाजिक कुप्रथाको अन्त्य, सबै बालबालिका विद्यालय गएको हुनुपर्ने, सडक बालबालिका शून्य, बाल सञ्जाल गठन, प्रत्येक विद्यालयमा खानेपानीको सुविधासहित छात्रछात्राका लागि अलग–अलग शौचालयको व्यवस्था भएको हुनुपर्ने, विद्यालय व्यवस्थापन र स्वास्थ्य व्यवस्थापन समितिमा बाल क्लब सञ्जालको प्रतिनिधित्व भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

























