३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

स्थानीय उत्पादन बजारीकरणमा भूमिका खेलेका थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राई सम्मानित



काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई सम्मानित भएका छन् ।

रैथाने कृषि उपज तथा बस्तुहरूको बजारीकरणमा खेलेको योगदानको कदर गर्दै काठमाडौँको दरबारमार्ग स्थित ओरियण्ट क्याफेमा  सञ्चालित रैथाने हाटबजार एक सय हप्ता पुगेको अवसरमा रैथाने एग्री प्रडक्टस् नेपालले  शनिवार आयोजना गरेको विशेष अन्तरक्रियामा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले अध्यक्ष राईलाई सम्मानित गरेका हुन् ।

रैथाने कृषि उत्पादन, स्थानीय सीप र प्रविधिबाट निर्मित वस्तुहरूको संरक्षण प्रवर्द्धनका लागि सञ्चालित रैथाने कृषि हाटबजारमा कृषि उपजहरूको बजारीकरण कार्यमा सहजीकरण गर्न अमूल्य योगदान गरेको भन्दै अध्यक्ष राईलाई सम्मानित गरिएको आयोजक संस्था रैथाने एग्री प्रडक्टस् नेपालले जनाएको छ ।

गाउँपालिकामा उत्पादित कृषि उत्पादनको उपभोगमा वृद्धि गरी व्यवसायीकरण गर्न गाउँपालिकाको कृषि एम्बुलेन्समार्फत रैथाने हाटबजारसम्म ल्याउन स्थापनादेखि नै वहाँले महत्त्वपूर्ण योगदान गर्नुभएको भन्दै आयोजकले अध्यक्ष राईको प्रशंसा गरेका थिए। 

देशको सर्वाङ्गीण विकासका लागि कृषि र कृषिको विकासका लागि स्थानीय तहको भूमिका अपरिहार्य रहेको भन्दै अध्यक्ष राईलाई प्रदान गरिएको सम्मान पत्रमा रैथाने कृषि उत्पादन र उपभोगमा वृद्धि गरी व्यवसायीकरण गर्ने उद्देश्यलाई पूरा गर्नका लागि थुलुङ दुधकोशीमा रैथाने कृषि उत्पादन, स्थानीय सीप र प्रविधिबाट निर्मित वस्तुहरूको संरक्षण प्रवर्द्धनका लागि भविष्यमा पनि अमूल्य योगदान हुने अपेक्षा गरिएको उल्लेख छ ।

एग्रो प्रडक्टस् नेपालका अध्यक्ष तिलक ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा कृषि मन्त्री अधिकारी, पूर्ब मन्त्री एबम् सांसद शेरबहादुर तामाङ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राई, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, ओरियण्ट क्याफेका सञ्चालक पशुपति पाण्डे, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल लगायतले रैथाने कृषि उपज र बस्तुको उपादेयताबारे चर्चा गर्दै यसको संरक्षण, प्रवर्द्धन र बजारीकरणमा जोड दिएका थिए ।

आयातित बस्तुहरूको उपभोगका कारण रोग भित्रिरहेको चर्चा गर्दै मन्त्री अधिकारीले नेपाली परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत थप कार्यक्रम अगाडि बढाएको जानकारी दिए ।

पछिल्लो समय स्थानीय उत्पादन, परम्परागत बाली र त्यसको उपभोगका विषयमा जागरण आइरहेको छ, उनले भने, अब अत्यावश्यक खाद्यवस्तुको आयात प्रतिस्थापन गर्ने गरी व्यावसायिक विकासमा केन्द्रित हुनुपर्छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, शनिबार  १ : ५० बजे