२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

‘बेनी स्वास्थ्य चौकी’ किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा



सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ मा सञ्चालित बेनी स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । बुधवार एक कार्यक्रमका बिच सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरेका हुन् ।

मेयर शेर्पाले नगरपालिका भित्र किशोर–किशोरीले नलजाईकन स्वास्थ्यसम्बन्धी समस्या राख्न सक्ने वातावरण तयार पारिएको बताए । साथै, शेर्पाले स्वास्थ्यकर्मीलाई किशोर–किशोरीसँग समन्वय गरी मैत्रीपूर्ण सेवा प्रवाह गर्न निर्देशन समेत दिए । वडाध्यक्ष ङवाङ ठिले शेर्पाले स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था बनाउन सफल भएकोमा खुसी व्यक्त गर्दै जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियताको प्रशंसा गरे ।

किशोर–किशोरीको गोपनीयता र आत्मसम्मानको संरक्षण हुने, स्वास्थ्य सेवा लिन आउने किशोरहरूलाई खुलेर कुरा गर्न सहज वातावरण मिल्ने, प्रशिक्षित स्वास्थ्यकर्मीमार्फत मैत्रीपूर्ण व्यवहारसहित सेवा प्रदान गर्ने, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, नशा नियन्त्रण लगायतका सेवा, सूचना, शिक्षा तथा परामर्श सेवा उपलब्ध गराइने लगायतको मापदण्ड पुरा गरेपछि किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको जनस्वास्थ्य निरीक्षक सुवास तामाङले जानकारी दिए ।

कार्यक्रममा स्वयंसेविकालाई सम्मान गरिएको छ । कार्यक्रममा जनस्वास्थ्य निरीक्षक चमर बहादुर मगर लगायत स्थानीय वासीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ११ : ५५ बजे