काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार बागमती कोरिडोरको अनुगमन गरेका छन् । उपप्रधानमन्त्री सिंहसहित मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले बिहानै सो क्षेत्रको निरीक्षण गरेको हो ।
उपप्रधानमन्त्री सिंहले वर्षा लागेसँगै बागमतीमा बाढीको सम्भावित जोखिम बारे स्थलगत निरीक्षण गरेर चासो व्यक्त गरे। वर्षा लागेसँगै बागमती नदीले पार्न सक्ने असर न्यूनीकरणका लागि आवश्यक काम अघि बढाउन पनि उपप्रधानमन्त्री सिंहले मन्त्रालय मातहतका निकायलाई सचेत गराए । टोलीले सुन्दरीजलदेखि गोकर्ण र माकलबारी क्षेत्रमा मन्त्रालय अन्तर्गत भइरहेका कामहरू, ढल व्यवस्थापन, बागमती सौन्दर्यीकरण लगायतको अवलोकन गरेको छ ।

सो क्षेत्रमा अवलोकन गर्ने क्रममा उपप्रधानमन्त्री सिंहले काठमाडौँ उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई बागमतीलाई स्वच्छ बगाउन र ढल व्यवस्थापनका लागि तत्काल आवश्यक कार्यअघि बढाउन निर्देशन दिए । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, काठमाडौँ ३ का सांसद सन्तोष चालिसे र नगर प्रवक्ता नारायण सुवेदीले सहरी विकास मन्त्रालयअन्तर्गत धेरै कामअघि बढेको भन्दै आभार गरे। नगर प्रमुख रिसालले नगरपालिकाले बागमती स्वच्छ बनाउन पालिकाभित्र गरिरहेको कामबारे जानकारी गराए ।
काठमाडौँ उपत्यकाको नदी र कोरिडोरको विषयलाई सहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण र बाग्मती सभ्यता एकीकृत विकास समितिले हेर्दै आएको छ । उपप्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाले देखिनै काठमाडौँ उपत्यकाका नदीनाला सफाइ र सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिँदै आएका छन् । यस वर्षको बजेटमा समेत सहरी विकास मन्त्रालयले उपत्यकाको नदीनाला संरक्षण र कोरिडोर विस्तारमा ३ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ ।
सो क्रममा काठमाडौँ आयुक्त सुवास बस्नेतले गोकर्ण क्षेत्रको सुन्दरीजल सडकमा परेका घरहरूको क्षतिपूर्तिको विषयमा उपप्रधानमन्त्री सिंहलाई जानकारी गराएका थिए ।

























