२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सोताङमा प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला सम्पन्न



सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा दुईदिने “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला” सम्पन्न भएको छ ।

असार ४ र ५ गते गाउँपालिकाको अयोजना तथा चाइल्ड नेटवर्क फाउण्डेशन र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको सहकार्य तथा सहजीकरणमा
कार्यशाला सम्पन्न भएको हो ।

“गर्दै गरौ लगानी बाटो,कुलो, पुल,भवन र मन्दीरमा,थप गरौ लगानी प्रारम्भिक बालविकासमा ” र “प्रारम्भिक विकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी ”भन्ने दुई मूल नारासहित कार्यशालाको आयोजना गरिएको हो ।

स्थानीय तहका सरोकारवालाहरूलाई एकीकृत प्रारम्भिक बाल विकासको अवधारणाबारे जानकारी दिने, बाल्यकालको सर्वाङिण विकास सुनिश्चित गर्न आवश्यक योजना निर्माणमा स्थानीय तहको भूमिका प्रस्ट पार्ने, तथा आगामी आर्थिक वर्षको वार्षिक र आवधिक योजनामा बाल विकास क्षेत्रमा लगानी बढाउन प्रेरित गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।

सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका सिनियर सहजकर्ता रितिका दाहाल तथा जिल्ला कार्यक्रम अधिकृत झपट बहादुर वोहोरा सहितको टिमले कार्यशालालाई सहजीकरण गरेका थिए ।

कार्यशालाको क्रममा सोताङ गाउँपालिको प्रारम्भिक बाल विकास ११ सदस्यीय समिति गाउपालिका अध्यक्ष खिलराज बस्नेतको अध्यक्षतामा गठन गरिएको छ । यस समितिले शिक्षा, स्वास्थ्य, पोषण, सरसफाइ, कृषि र पशुपालन जस्ता क्षेत्रलाई एकीकृत गर्दै प्रारम्भिक बाल विकास कार्यक्रममा प्राविधिक सहायोग तथा अनुगमन गर्नेछ ।

कार्यशालाबाट आगामी आर्थिक वर्ष २०८२र२०८३ का लागि करिब ३१ लाख, ५५ हजार रुपैयाँ बराबरको एकिकृत प्रारम्भिक बाल विकास योजना गरियो र यी कार्यक्रम गर्न प्रतिबद्धता स्थानीय सरकार र सहकार्य संस्थाले व्यक्त गरेका छन् ।

कार्यशालामा सहभागी ३३ जनाले हस्ताक्षर गरी “गर्भावस्था देखि ८ वर्षसम्मका सबै बालबालिकाको सर्वोत्तम हित र सर्वाङ्गिन विकासको अधिकार सुनिश्चित गर्न स्थानीय सरकार, सेवा प्रदायक संस्था, विद्यालय, अभिभावक, शिक्षा, स्वास्थ्य, सञ्चार र नागरिक समाज समन्वयमा सक्रिय भूमिका निर्वाह गर्ने“ प्रतिबद्धता जनाएका छन् ।

गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा उपाध्यक्ष सहित पाँचै वडाका वडा अध्यक्षहरू, वडा सचिवहरू, निमित प्रशासकीय अधिकृत श्रीधोज राई, शिक्षा अधिकृत, पशु तथा कृषि शाखा प्रमुख, गैरसरकारी संस्था रिड नेपालका प्रतिनिधि, सेतो गुराँसका जिल्ला कार्यक्रम अधिकृत, सिनियर अफिसर, सहजकर्ता, स्थानीय विद्यालयका प्रधानाध्यापक, बाल क्लब प्रतिनिधि, विद्यालय मेन्टरहरू लगायत सरोकारवाला संस्थाका विशिष्ट उपस्थिती रहेको थियो ।

कार्यशाला स्थानीय तहमा प्रारम्भिक बाल विकासको विषयलाई नीतिगत रूपमा स्थापित गर्न महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ३ : ४५ बजे