२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

थुलुङ दुधकोशी गाउँपालिकाले ल्यायो ६३ करोड ३७ लाखको बजेट



सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले उत्पादनलाई जोड दिदै आर्थिक वर्ष २०८२–८३ का लागि ६३ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष सविता राईले गाउँसभाको १४औं अधिवेशनमा ६३ करोड ३७ लाख ६० हजार रुपैयाँको बजेट सहितको नीति तथा कार्यक्रम पेस गर्नुभएको हो ।

“कृषि,पर्यटन, उर्जा र रोजगार, समृद्ध थुलुङ दुधकोशी निर्माणको आधार” भन्ने मुल नारा सहित गाउँपालिका अध्यक्ष तथा सभाका अध्यक्ष असीम राईको अनुमतिमा पेस भएको बजेट अनुसार संघीय सरकार समानीकरण अनुदान १२ करोड ३७ लाख, संघीय सरकार राजश्व वाँडफाँड ८ करोड ६७ लाख, संघीय सरकार सर्शत अनुदान ३३ करोड ८१ लाख, संघीय सरकार विशेष अनुदान १ करोड ६५ लाख, संघीय सरकार समपुरक अनुदान ५२ लाख रहेको छ ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार प्रदेश सरकार समानीकरण अनुदान १ करोड २० लाख ४८ हजार, प्रदेश सरकार राजश्व वाँडफाँड ५४ लाख ७६ हजार, प्रदेश सरकार सशर्त अनुदान १ करोड १५ लाख ८६ हजार, प्रदेश सरकार समपूरक अनुदान १ करोड ६० लाख र आन्तरिक स्रोत १ करोड ८४ लाख ५० हजार रहेको छ ।

प्रस्तुत भएको नीति तथा कार्यक्रममा देउसा कृषि वन श्रोत केन्द्रलाई थुलुङ दुधकोशी कृषि अनुशन्धान केन्द्रको रुपमा विस्तार गरिने भएको छ । उक्त अनुसन्धान केन्द्र मार्फत १ लाख ५० हजार कफिको बिरुवा उत्पादन गरि कफी खेती विस्तार गरिने छ । यस वर्षको कार्यक्रममा लक्षित वर्ग सङ्ग अध्यक्ष कार्यक्रम, वृहत् जालिम पर्यटन प्रवद्र्धन कार्यक्रम, प्रदेश खेलग्राम लगायत गौरवको कार्यक्रम समावेश गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

गाउँसभाको अवसरमा दुधकोशी अस्पतालमा कार्यरत खरिदार खड्क कुमारी सुनुवारलाई उत्कृष्ट कार्य गरेबापत सम्मान गरिएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ३२ बजे