२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

महाकुलुङ गाउँपालिकाले ल्यायो ४० करोड ४७ लाखको बजेट, यस्ता छन् प्राथमिकताका योजना


१० असार २०८२, मंगलबार  

192
Shares

सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ को अनुमानित बजेट ४० करोड ४७ लाख ९० हजार रुपैयाँ ल्याएको छ ।

पालिका अध्यक्ष सूर्य बहादुर कुलुङको अध्यक्षतामा मङ्गलवार बसेको सोह्रौँ गाउँ सभामा उपाध्यक्ष बिपना कुलुङले पेस गर्नुभएको बजेट चालु आ.व. २०८१/८२ को भन्दा ६ करोड ३५ लाख १२ हजार ५ सय रुपैयाँ अर्थात् १८.६१ प्रतिशतले बढी हो ।

नेपाल सरकारको वित्तीय समानिकरण अनुदान तर्फ १० करोड ९४ लाख, नेपाल सरकार सर्सत अनुदान तर्फ १० करोड ९७ लाख, सङ्घीय विशेष अनुदान १ करोड ४४ लाख, सङ्घीय राजश्व बाँडफाँड १० करोड २१ लाख ८९ हजार ८४० रुपैयाँ, सङ्घीय समपूरक अनुदान ९० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, प्रदेश सरकार समानीकरण अनुदान ९२ लाख ३४ हजार, प्रदेश सवारी कर बाँडफाँड ६८ लाख २६ हजार, प्रदेश समपूरक अनुदान १ करोड ६० लाख, प्रदेश सरकार सर्सत अनुदान ४३ लाख ९० हजार, आन्तरिक राजश्व ३५ लाख १६० रुपैयाँ, घरजग्गा रजिस्ट्रेसन १ लाख ५० हजार साथै बैङ्क मौज्दात २ करोड हुने अनुमान गरिएको छ ।

गाउँपालिकाको प्रशासनिक भवन निर्माण प्राथमिकतामा परेको छ । स्थानीय पूर्वाधार विकास विभाग (डोली) सँगको साझेदारीमा भवन निर्माण गर्ने गरी बजेटको व्यवस्था मिलाइएको छ ।

बुदुम खोलामा निर्माण भई रहेको बुदुमखोला प्रिस्ट्रेस पुल, महाकुलुङ गाउँपालिकामा सञ्चालित वृद्धाश्रम र शिशु स्याहार केन्द्र सञ्चालन, महाकुलुङ गाउँपालिकाको वडा नं. ४ र ५ अन्तर्गत कार्यरत स्थायी सेवाका सम्पूर्ण कर्मचारी तथा कामका चाप पर्ने समयमा अतिरिक्त समय काम गर्ने कर्मचारीका लागि प्रोत्साहन, कोंखो खोला मोटरेवल पुल निर्माण प्राथमिकतामा परेका छन् ।

त्यस्तै, वडा नं. २ अन्तर्गत पेल्माङ खानेपानी एक घर एक धारा निर्माण, वडा नं. १ मा खानेपानी निर्माणमा साझेदारी कार्यक्रम, वडा नं. ३ छेस्काममा वर्थिङ सेन्टर पनि पालिकाको प्राथमिक योजनामा परेका छन् ।
आगामी आर्थिक वर्षमा विभिन्न गैर सरकारी सङ्घ संस्थाले ३ करोड ४० लाख ८३ हजार २०३ रुपैयाँ बराबरको विभिन्न कार्यक्रम सञ्चालन गर्नेछन् ।

सभामा पेस गरिएको नीति तथा कार्यक्रममा महाकुलुङ खेलमैदान छेस्कामलाई फुटबल खेलका राष्ट्रिय खेलाडी प्रीति राई कुलुङको सम्मान स्वरूप खेलमैदानको नामाकरण प्रीति कुलुङ खेल गर्ने, ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्य, सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन भइरहेको सगरमाथा माध्यमिक विद्यालयलाई १२ कक्षासम्म स्तरोन्नति गरिने, वधशाला निर्माण समावेश छ ।

त्यस्तै, पालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नको लागि स्थानीय स्तरमा उत्पादित अल्लोको कपडा तथा स्थानीय आदिवासी जनजातिको प्रचलित ढाकाको कपडालाई यस गाउँपालिकामा सरकारी पोसाकको रूपमा मान्यता प्रदान गर्ने गरी आगामी कार्यक्रम अघि बढाउने तयारी गरिएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : १३ बजे