२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

नागार्जुन १० मा लागु औषध दुर्व्यसनी विषयक अन्तरक्रिया



काठमाडौँ । अन्तर्राष्ट्रिय लागु औषध तथा अवैध तस्करी विरुद्धको दिवसको अवसरमा डिजिटल ग्रिन नेपालको आयोजना तथा वडा कार्यालयको सहकार्यमा नागार्जुन नगरपालिका १० मा लागु औषध दुर्व्यसनी विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ ।

वडा कार्यालयमा सम्पन्न भएको अन्तरक्रियामा काठमाडौँ प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी)अपिलराज बोहोराले लागु पदार्थ दुर्व्यसनी, यसको कारण, अवैध ओसार पोसार र प्रयोग, कानुनी प्रावधानका विषयमा सचेतनामूलक कक्षा लिएका थिए ।

आम नागरिक र समुदायको सकारात्मक भूमिका विना प्रयोग, अवैध तस्करीलाई न्यूनीकरण सम्भव नभएकाले नागार्जुन बासी यस्ता कुरामा सचेत बन्न आग्रह गरे । एसपी बोहोराले आपराधिक घटनाका मुख्य कारण मध्ये लागु औषध दुर्व्यसनी पनि एक भएकाले घर, विद्यालय र समाजमा यस्ता क्रियाकलाप हुन नदिन सचेत रहन आग्रह गरे ।

नागार्जुन १० का वडाध्यक्ष सुन्दर केसीले सहरीकरण सँगै लागु पदार्थको दुर्व्यसनी र तस्करी बढ्न थालेको आभास भएकाले वडावासीको चेतनाका लागि अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको बताए ।

डिजिटल ग्रिन नेपालका अध्यक्ष उपेन्द्र कुइँकेलले प्रविधिको प्रयोग, उमेर र सङ्गतका कारण विद्यालय उमेर समूहकै व्यक्तिहरू लागु औषधको कुलतमा फस्ने क्रम बढ्दो पाइएकाले अभिभावक र विद्यार्थीको चेतना स्तर वृद्धिका लागि हरेक गाउँ टोलमा विभिन्न स्वरूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन आवश्यक रहेको बताए ।

अन्तरक्रियाको क्रममा सरोकारवालाहरूले आफ्नो अनुभव शेयर गर्दै नागार्जुन १० क्षेत्रमा बढ्दै गएको लागु औषध दुर्व्यसनी र रोकथामका लागि नेपाल प्रहरीलाई गुहारेका थिए । सोही क्रममा एसपी बोहोराले प्रहरीको वडा इकाइलाई दुर्व्यसनी र अपराध न्यूनीकरणमा समुदायसँग मिलेर अघि बढ्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ४ : ४६ बजे