२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

फेस अफ एसवाई २०८२ सुरु, पुरस्कार राशि दुई करोड माथि, ब्रान्ड एम्बेसडर बन्ने मौका


१३ असार २०८२, शुक्रबार  

6
Shares

काठमाडौं । ‘फेस अफ एसवाई २०८२ (ब्रान्ड एम्बेसडर हन्ट)’ प्रतिस्पर्धा काठमाडौँमा सुरु भएको छ । एसवाई इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो प्रतियोगिता नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो ब्रान्ड एम्बेसडर हन्ट हुने दाबी गरेको छ ।

आयोजकका अनुसार, प्रतियोगितामा सहभागीले प्रतिस्पर्धामार्फत ब्रान्ड एम्बेसडर बन्ने मौका पाउनेछन् । महिला र पुरुष दुवैका लागि खुला प्रतियोगिता विभिन्न चरण हुँदै ३१ जनवरी २०२६ सम्म सञ्चालन हुनेछ । पहिलो चरण यसअघि ११ असारदेखि सुरु भइसकेको छ ।

कम्पनीका निर्देशक विमलराज गोसाईले प्रतियोगितामा पुरस्कार राशि मात्रै दुई करोड रुपैयाँभन्दा बढी हुने जानकारी दिए । मिस नेपालजस्तो चर्चित प्रतियोगितामा पुरस्कार २०–२५ लाखको सीमामा रहेको भए पनि आफूहरूले सञ्चालन गर्न लागेको प्रतिस्पर्धामा नगदसहित विभिन्न कन्क्ट्रयाक्ट र भौचर जोड्दा दुई करोड रुपैयाँभन्दा बढी हुने उनको दाबी छ ।

गोसाईले बजारमा पहिल्यै चर्चित सेलिब्रिटीलाई होइन, गाउँघरमा लुकेर बसेका प्रतिभालाई खोजेर भुइँमान्छेलाई ब्रान्ड एम्बेसडर बनाउने लक्ष्य लिएको बताए । ‘पब्लिकले पत्याउँदैनन् भन्ने बुझेर पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हौँ,’ उनले भने ।

कार्यक्रमअन्तर्गत तीनजना मुख्य ब्रान्ड एम्बेसडर चयन गरिनेछ । प्रतियोगितामा भाग लिन पहिलो चरणमा सहभागीले एसवाईको थिममा आधारित एउटा भिडियो तयार पारेर पठाउनुपर्नेछ । यो चरण ११ असारदेखि १३ असोज २०८२ सम्म चल्नेछ ।

पहिलो चरणबाट पाँच सय जना छनोट गरिनेछ । सबैलाई हात खाली नहुने गरी दुई–दुई हजार रुपैयाँबराबरको एसवाई बजारको सपिङ भौचर दिइनेछ । तीमध्येबाट उत्कृष्ट १ सय ५० जनालाई दोस्रो चरणमा प्रवेश गराइनेछ । दोस्रो चरणमा उत्कृष्ट ५० जनालाई थप १० हजार रुपैयाँबराबरको सपिङ भौचर प्रदान गरिने छ ।

त्यसपछि उत्कृष्ट २५ जनालाई काठमाडौंमा हुने फिजिकल अडिसनका लागि फाइनल चरणमा लैजाने तयारी छ । फाइनल चरण १ जनवरी २०२६ देखि ३१ तारेखसम्म चल्नेछ । फाइनल चरणमा सहभागी हुने २५ जनालाई प्रशिक्षण दिइने र उनीहरूलाई विभिन्न चरणमा प्रतिस्पर्धा गराइनेछ ।

अन्तिम चरणबाट टाइटल विजेता फेस अफ एसवाई छनोट गरिनेछ । साथै फस्ट रनर अप र सेकेन्ड रनर अप पनि घोषणा गरिनेछ । आयोजकका अनुसार, टाइटल विजेताले पाँच लाख रुपैयाँ नगदसहित एक करोड रुपैयाँबराबरको एक वर्षे कन्ट्र्याक्ट प्राप्त गर्नेछन् । फस्ट रनर अपले चार लाख रुपैयाँ नगद र ५० लाखबराबरको कन्ट्र्याक्ट पाउनेछन् ।

सेकेन्ड रनर अपलाई तीन लाख नगदसहित ३० लाख बराबरको कन्ट्र्याक्ट दिइनेछ । त्यसपछि बाँकी उत्कृष्ट सात जनालाई पपुलारिटी अवार्डस्वरूप प्रतिव्यक्ति डेढ लाख रुपैयाँ प्रदान गरिनेछ । आयोजकका अनुसार, पुरस्कारमा कर कट्टी गरिने आयोजकले बताएको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ५ : २० बजे