काठमाडौँ । फिल्म पूर्ण बहादुरको सारङ्गी पछि व्यापारिक रूपमा आशा गरिएको विजय बराल अभिनीत फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको आइतबार देशका विभिन्न ८ सहरमा एकसाथ कार्यक्रमको आयोजना गरिएको थियो । भदौको ६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको पोस्टर काठमाडौँ, झापा, धरान, इटहरी, विराटनगर, वीरगन्ज, बुटवल र नेपालगन्जमा एकसाथ सार्वजनिक गरिएको हो ।
देशभर एकसाथ फिल्मको प्रचार होस् भन्ने उद्देश्यले यस्तो शैली अपनाएको निर्माणपक्षले बताएको छ । सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी र मिरुना मगरलाई स्थान दिइएको छ । राकेश दाहालले तयार पारेको पोस्टरले सम्बन्धको परिबन्धको कथा भन्छ ।
एउटा पोस्टरमा विजय बिचमा छन् भने दुई छेउमा केकी र मिरुना छन् । यस्तै, एक पोस्टरमा केकी अधिकारीलाई मात्र स्थान दिइएको छ । केकीलाई मिरुनाकी दिदीको रूपमा फिल्ममा देख्न सकिन्छ ।
सार्वजनिक पोस्टरले कलाकारहरूको मनोभाव र दोधारे अवस्थालाई चित्रित गर्छ । हिमाल न्यौपानेको निर्देशनमा तयार भएको फिल्मका एसोसियट निर्देशक मनिष राउत हुन् । पेपर क्लिपको व्यानरमा निर्माण भएको फिल्ममा कमल न्यौपाने र विमल न्यौपानेको लगानी छ । फिल्मका कार्यकारी निर्माता नारायण तिम्सिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन हुन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको सङ्गीत रहेको छ । यो फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमाटोग्राफी छ । फिल्ममा भानुभक्त ढकालको कथा, पटकथा र संवाद छ ।
फिल्ममा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारहरूको अभिनय छ ।
























