१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

गृहमन्त्री लेखक: कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्ने प्रतिबद्धता



काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले लोक तथा दोहोरी गीत, तीज गीतका नाममा फैलिरहेको विकृति तथा विसंगति नियन्त्रण र नियमन सम्बन्धमा गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ ।

बुधबार मन्त्रालयमा भएको भेटमा अध्यक्ष चन्द्रमणी गौतम र सचिव कमल सरगमको नेतृत्वमा गएको सञ्चारकर्मीको टोलीले गृहमन्त्री लेखकलाई तीज गीतको नाममा सामाजिक मर्यादा, सांस्कृतिक मूल्य, नैतिकता र परम्पराविरुद्धका गतिविधिहरू भइरहेकाले त्यस्ता कार्यको नियन्त्रणका लागि ध्यानाकर्षण गराएको हो ।

संस्थाका प्रवक्ता शिखर जंग श्रेष्ठले १० बुँदे ध्यानाकर्षण पत्र पढेर सुनाएका थिए भने अध्यक्ष गौतमले गृहमन्त्रीलाई पत्र हस्तान्तरण गरेका थिए । ध्यानाकर्षणमा अश्लील, भड्काउ, अपमानजनक तथा विकृत गीत–संगीतहरूको अनुगमन तथा रोकथामको लागि अधिकार सम्पन्न मौलिक कला संस्कृती संरक्षण तथा गीत संगीत विकास वोर्ड आवश्यक रहेकाले माग गरेका छन् ।

त्यस्तै, सामाजिक संजाल र युट्युबजस्ता डिजिटल प्लेटफर्महरूबाट सार्वजनिक हुने गीतहरूमा पूर्व स्वीकृति प्रणालीको विकास, लोक संस्कृति, परम्परा र नारी सम्मान प्रतिकूल सामग्री उत्पादन तथा प्रसारण गर्ने सर्जक, गायकगायिका र निर्माता–निर्देशकलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग समेत गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझेपछि गृहमन्त्री लेखकले डिजिटल प्लेट फर्ममा गीत संगीतको माध्यमबाट गलत गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणका लागि साइबर ब्यूरो अन्तरगत फोकल पर्सन तोकेरै काम थाल्ने प्रतिबद्धता व्यक्त गरे । भेटमा साइबर ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरिक्षक नबीन्द अर्याल समेत उपस्थित थिए । अर्यालले विद्युतीय कारोबार ऐनलाई टेकेर गीत संगीतको नाममा विकृति फैलाउने जो कोहीलाई पनि कानुनको दायरामा ल्याउने बताए ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सल्लाहकार तथा इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कडेँलले महिलाहरुको स्वतन्त्रताको प्रतिक मानिदै आएको तीजमा समेत विकृती भित्रनुमा चिन्ता व्यक्त गर्दै सञ्चारकर्मीले बुझाएको ध्यानाकर्षणका बुँदा कार्यान्वयनमा सरकारले तदारुकता देखाउनुपर्ने बताए ।

संस्थापक अध्यक्ष गोविन्द गिरीले मौलिक संस्कृति र रैथाने विउविजन लोप हुदैँ जानु राज्यकै साख घट्नु भएकाले त्यसको संरक्षणमा राज्यको उपस्थिति बलियो बन्नुपर्ने विचारु राखे । निवर्तमान अध्यक्ष हरिबल्लभ नेपालले गीत संगीत क्षेत्रको शुद्धिकरण र संस्कृति संरक्षणका लागि सेन्सर बोर्ड स्थापना गर्न माग राखे ।

अध्यक्ष चन्द्रमणी गौतमले लोक सञ्चारकर्मीले आफ्नो दायित्व सम्झेर विगतका वर्ष देखि नै विकृतीन्मूख गीत संगीतको प्रकाशन र प्रसारणमा बन्देज लगाउदै आएको जानकारी गराउदै संस्कृति संरक्षणमा राज्यले मूर्त कदम चाल्न आग्रह गरे ।

गृहमन्त्री सँगको भेटमा संस्थाका वरिष्ठ उपाध्यक्ष सुदर्शन आचार्य, प्रचार विभाग प्रमुख गोपिकृष्ण चापागाई, कोषाध्यक्ष शरण हुमागाई, सदस्य द्धय विनिता कुँवर, सिराज गौतम लगायतको उपस्थिति रहेको थियो ।

गृहमन्त्री भेट्नु अघि राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीजको नाममा बजारमा आएको “गाई कालो“ र “सल्ला दमारमा“ प्रतिबन्ध लगाउने विज्ञप्ती जारी गरेको थियो ।

यस्तो छ राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गृहमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र

श्री माननीय गृहमन्त्रीज्यू
गृह मन्त्रालय
सिंहदरबार, काठमाडौँ

विषयः लोक तथा दोहोरी गीत, तीज गीतका नाममा फैलिरहेको विकृति तथा विसंगति नियन्त्रण र नियमन सम्बन्धमा ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल एक जिम्मेवार सञ्चारकर्मीहरुको साझा संस्था हो, जसले नेपाली लोकसंस्कृति, लोकभाषा र लोकजीवन प्रतिनिधित्व गर्ने माध्यमको संरक्षण, प्रवद्र्धन र अनुशासनको पक्षमा निरन्तर क्रियाशील रहँदै आएको छ ।
पछिल्लो समय लोक तथा दोहोरी गीत, तीज गीतका नाममा सामाजिक संजाल तथा युट्युबजस्ता डिजिटल माध्यमहरूबाट सामाजिक मर्यादा, सांस्कृतिक मूल्य, नैतिकता र परम्पराविरुद्धका गतिविधिहरू तीव्र रूपमा बढ्दै गइरहेको छ । गीत संगीतले समाजलाई एक सुत्रमा बाँधेर अनुसासनमा मार्गमा डोहोर्याउनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै अघि बढिरहेको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले विकृती न्यूनिकरणका लागि राज्यकै अभिभावक सरकारलाई गुहार माग्न आएका हौँ ।
तीज पर्व हाम्रो मौलिक संस्कृति, नारी भावनाको सम्मान र सामाजिक समरसताको महत्वपूर्ण चाड हो । यो पर्वले नेपाली महिलाहरूबीच एकताको भावना, सांस्कृतिक चेतना र धार्मिक श्रद्धालाई उजागर गर्दै आएको छ । तर पछिल्लो समय तीज पर्वको नाममा बजारमा आउने केही गीतहरूले हाम्रो संस्कृतिमा विकृति र विसंगति ल्याउने खतरा उत्पन्न गरेका छन् ।
नेपाली लोक परम्पराको मूल मर्मलाई नबुझी, अत्यन्तै अश्लील, दोधारे र अपाच्य शब्द तथा भावनाले भरिएका गीतहरू डिजिटल माध्यमहरू, युट्युब र सामाजिक सञ्जालमार्फत सार्वजनिक हुँदै गएका छन् । यस्ता गीतहरू न केवल महिलाको सम्मानमाथि प्रहार हुन्, बरु सम्पूर्ण समाजको नैतिक धरातललाई कमजोर बनाउने खतरा बोकेका छन् । यहि सन्दर्भमा गम्भीर चासो व्यक्त गर्दै तपसिलका विषयहरुमा मन्त्रीज्यू, गृह मन्त्रालय लगायत मातहतका निकाय समक्ष ध्यानाकर्षण गराउन चाहन्छौ ।

ध्यानाकर्षणका बुँदाहरूः
१, अश्लील, भड्काउ, अपमानजनक तथा विकृत गीत–संगीतहरूको अनुगमन तथा रोकथामको लागि सशक्त नियमन प्रणाली वा सेन्सरका लागि अधिकार सम्पन्न मौलिक कला संस्कृती संरक्षण तथा गीत संगीत विकास वोर्ड आवश्यक रहेकाले अबिलम्ब स्थापना गरियोस् ।

२, विकृतिजन्य गीतसंगीतलाई प्रोत्साहन गर्ने, असभ्य छाडा र समाज भड्काउन उत्पेरित गर्ने गीत संगीतजन्य सामाग्री प्रकाशन प्रसारण गर्ने संचार माध्यममाथि नियमन् गरियोस् ।

३, सामाजिक संजाल र युट्युबजस्ता डिजिटल प्लेटफर्महरूबाट सार्वजनिक हुने गीतहरूमा पूर्व स्वीकृति प्रणाली वा निगरानी संयन्त्र लागू गरियोस् ।

४, लोक संस्कृति, परम्परा र नारी सम्मान प्रतिकूल सामग्री उत्पादन तथा प्रसारण गर्ने सर्जक, गायकरगायिका र निर्माता–निर्देशकलाई कानुनी दायरामा ल्याई कडा कारबाही गरियोस् । साथै, तीज गीतका नाममा महिलाविरुद्ध गरिने अशोभनीय प्रस्तुति, विकृत शब्द प्रयोग र चरित्र हत्या हुने गीतमा विशेष निगरानी राखियोस् ।

५, समाजमा जातीय, लैंगिक र धार्मिक विद्वेष फैलाउने खालका गीतहरूलाई निषेध गर्ने नीति तुरुन्त कार्यान्वयन गरियोस् ।

६, गीत रेकर्ड गर्नुअघि वा सार्वजनिक गर्नुअघि सांस्कृतिक मापदण्डअनुरूप प्राधिकृत निकायबाट प्रमाणिकरण अनिवार्य गरियोस् ।

७, सांस्कृतिक असभ्यता फैलाउने भिडियो सामग्री तत्काल हटाउने प्रक्रिया तथा जिम्मेवार निकाय निर्धारण गरियोस् ।

८, मौलिक लोक संस्कृति, लोक गीत, तीज गीत र अन्य सांस्कृतिक विधा संरक्षण तथा प्रवद्र्धनमा लागेका सर्जक, संकलक, कलाकार तथा सञ्चारकर्मीलाई संरक्षण, प्रोत्साहन तथा सम्मान दिइयोस् ।

९, सांस्कृतिक क्षेत्रमा कार्यरत सञ्चारकर्मी र स्रष्टाहरूलाई जिम्मेवार बनाउँदै उनीहरूको क्षमता विकासका कार्यक्रम संचालन गरियोस् ।

१०, नेपाली लोक, कला, संस्कृति र साहित्यको अध्ययन, अध्यापन, संरक्षणका लागि नेपाल सरकारले मूर्त कार्यवाही अघि बढाओस् । बाह्य संस्कृति हाबी हुदै गएको अवस्थामा अबका केही दशकमा नेपालीको मौलिक पहिचान खोज्दा समेत नपाउने अवस्था हुन सक्छ । त्यस्तो अवस्था आउन नदिन बेलैमा सचेत बनौँ ।

अन्त्यमा गृह मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने र कार्यान्वयन गर्न सक्ने विषय यथासक्य कार्यान्वयन गरी सभ्य समाज निर्माणमा अघि बढ्ने छ भन्ने आशा राख्दछौँ ।

धन्यवाद ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ७ : २० बजे