११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

साल्पासिलिछोमा ऐतिहासिक सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव सम्पन्न


२५ बैशाख २०८३, शुक्रबार  

4
Shares

काठमाडौं — साल्पासिलिछो गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोगमा साल्पा संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्र को आयोजनामा गएको वैशाख १८ गते माबु बजार मा “साल्पासिलिछो सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव–२०८३” भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम प्रमोद राई को अध्यक्षता तथा राष्ट्रिय गानका रचनाकार प्रदीप कुमार राई (व्याकुल माईला) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा दौलथ कुलुङ, उपाध्यक्ष अस्मिता कुलुङ, प्रमुख प्रशासकीय अधिकृत मणि राम खतिवडा लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल सरकारले घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र समावेश गरेको तथा कोशी प्रदेश सरकारको पर्यटकीय गौरव आयोजनाअन्तर्गत पर्ने मुन्दुम पदमार्ग र साल्पा पोखरी क्षेत्रको संस्कृति, साहित्य, धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिएका छन्।

उनका अनुसार मुन्दुम/रीदुम पदमार्गसँग जोडिएका विभिन्न जिल्ला र गाउँपालिकाहरूको सामाजिक तथा आर्थिक विकास, स्थानीयस्तरमा रोजगारी सिर्जना तथा गरिबी न्यूनीकरणमा योगदान पुर्‍याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा भोजपुर, सोलुखुम्बु, खोटाङ, संखुवासभा, पोखरा, काठमाडौं लगायतका क्षेत्रका साथै सिक्किम बाट समेत तीर्थालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै महाकुलुङ गाउँपालिका, षडानन्द नगरपालिका र सिलिचोङ गाउँपालिका बाट धामीझाँक्रीहरूको व्यापक उपस्थिति रहेको थियो।

साहित्यिक सत्रमा मकालु साहित्य समाज का अध्यक्ष ताराबहादुर बुढाथोकी, उपाध्यक्ष कृष्णप्रसाद चापागाई, सचिव भरत कुलुङ, सह–सचिव सनम थापा, सदस्य राजेन्द्र सरवहारा निरौला, तारानाथ पोखरेल तथा संखुवासभा साहित्यिक समाज का अध्यक्ष बीरेश राई लगायतले साल्पा र सिलिछोको विषयमा कविता वाचन गरेका थिए।

यस अवसरमा साल्पा पोखरी र सिलिछो क्षेत्रको प्रवर्द्धनमा साहित्य, गीत–संगीत तथा लेखनमार्फत योगदान पुर्‍याउने भरत कुलुङ, अजय अलङ्कार कुलुङ, हेमराज थुलुङ र युमन खालिङ लाई सम्मान गरिएको थियो।

महोत्सवमा कुलुङ धामीझाँक्रीद्वारा “कुलु रीदुम” अर्थात् मुन्दुम प्रदर्शन, विभिन्न जातजातिका झाँकी तथा किराती मौलिक गीत “सै राजा सैसै, सै रानी सैसै” प्रस्तुत गरिनुका साथै सांस्कृतिक झल्कोले कार्यक्रमलाई अझ ऐतिहासिक र आकर्षक बनाएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ११ : २१ बजे