५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

सोलुखुम्बुमा एआई पत्रकारिता तालिम सुरु, पत्रकारहरूको उत्साहजनक सहभागिता



सोलुखुम्बु । सोलुखुम्बुमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पत्रकारिता तालिम सुरु गरिएको छ । नेपाल पत्रकार महासंघ सोलुखुम्बुको आयोजनामा सदरमुकाम सल्लेरीस्थित द हिमालयन याकमा सोमबारदेखि तीन दिने एआई पत्रकारिता तालिम सुरु भएको हो ।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिला कुमारी पाण्डे केसीले पत्रकारितामा एआई प्रविधिको प्रयोग दिनप्रतिदिन उपयोगी बन्दै गएको उल्लेख गर्दै यसको प्रयोगलाई राज्यले नीतिगत रूपमा अझ व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले प्रविधिको सही प्रयोगले सूचना प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष सुबास दर्नालले एआई पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्दै यसको दुरुपयोगभन्दा सदुपयोगमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

तालिमका प्रशिक्षक अजय शर्मा रहनुभएको छ । तालिममा जिल्लाका सक्रिय पत्रकार, नेपाली सेना, नेपाल प्रहरी तथा विभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

आयोजकका अनुसार तालिममा एआईको प्रयोग, डिजिटल पत्रकारिता, समाचार सम्पादन तथा आधुनिक सञ्चार प्रविधिसम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ५ : ५४ बजे