सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ७२ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, रोजगार तथा सुशासनलाई प्राथमिकतामा राखिएको पालिका अध्यक्ष सुर्य बहादुर कुलुङ्ले बताए ।
गाउँपालिकाले युवा स्वरोजगार प्रवर्द्धन, मौलिक हकको प्रत्याभूति, सेवा प्रवाहको गुणस्तर सुधार, प्रक्रियागत झन्झटको अन्त्य तथा खाद्य सुरक्षाको सुनिश्चिततालाई आगामी वर्षका प्रमुख नीति तथा कार्यक्रमका रूपमा अघि सारेको पालिका उपाध्यक्ष विपना कुलुङ्ले जानकारी दिइन ।
बजेटका लागि नेपाल सरकारको वित्तीय समानीकरण अनुदानबाट ११ करोड ९ लाख रुपैयाँ, संघीय सशर्त अनुदानबाट १२ करोड ९६ लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँडबाट १० करोड ६० लाख ९० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै प्रदेश सरकारको समानीकरण अनुदान ९२ लाख ४३ हजार रुपैयाँ, सशर्त अनुदान ३३ लाख ५४ हजार रुपैयाँ, सवारी कर बाँडफाँड ८० लाख ४० हजार ५७७ रुपैयाँ तथा समपुरक अनुदान १ करोड ६० लाख रुपैयाँ रहनेछ। आन्तरिक राजस्व, घरजग्गा रजिष्ट्रेशन शुल्क र बैंक मौज्दात समेत बजेट स्रोतका रूपमा समावेश गरिएको प्रशासकिय अधिकृत केडि कुलुङ्ले जानकारी दिए।
गाउँपालिकाको गौरवको आयोजनाका रूपमा रहेको इन्द्र कुलुङ महाकुलुङ चक्रपथ निर्माणलाई विशेष प्राथमिकता दिइएको छ। चक्रपथलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन मोटरेबल पुल तथा सडक निर्माण कार्यलाई तीव्रता दिने योजना रहेको छ। कोङ्खो खोलामा बेलिब्रिज निर्माणका लागि समपुरक अनुदानबाहेक थप २ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
त्यस्तै तितिलाघाटमा बेलिब्रिज निर्माणका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ। वडा नम्बर ४ मा निर्माणाधीन प्रिति कुलुङ रंगशाला का लागि १५ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको छ भने सुम्खिम भवन निर्माणका लागि १५ लाख रुपैयाँ र बुकुर पर्यटन पदमार्ग निर्माणका लागि १० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
वडा नम्बर ५ अन्तर्गत चाप्सोडला–बाफुदो–देवालु–नौउवारी कृषि सडक ट्र्याक खोल्न २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। वडा नम्बर २ मा सञ्चालन भइरहेको खानेपानी योजनाका लागि ३५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
गाउँपालिकाका पाँचवटै वडालाई समान रूपमा १ करोड ३ लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ। स्वास्थ्य शाखाका लागि ३ करोड १३ लाख रुपैयाँ, शिक्षा शाखाका लागि २ करोड ५७ लाख ९७ हजार ५ सय रुपैयाँ, कृषि शाखाका लागि ३० लाख रुपैयाँ, पशु सेवा शाखाका लागि ३० लाख रुपैयाँ तथा महिला, बालबालिका तथा सामाजिक समावेशीकरण शाखाका लागि ३० लाख ९३ हजार १ सय रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै न्यायिक समितिका लागि १० लाख रुपैयाँ, गाउँकार्यपालिकाको कार्यालयका लागि ६ करोड ५६ लाख ७४ हजार ४ सय रुपैयाँ तथा अन्य गाउँपालिका स्तरीय कार्यक्रमका लागि ७ करोड ३९ लाख १३ हजार ९ सय रुपैयाँ बजेट छुट्याइएको छ।
गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभाग (डोली) सँगको साझेदारी कार्यक्रमअन्तर्गत ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ। उक्त भवन निर्माणमा कुल लागतको ६० प्रतिशत लगानी डोलीमार्फत प्राप्त हुने जनाइएको छ। साथै भवनका लागि आवश्यक फर्निचर तथा फिक्स्चर व्यवस्थाका लागि समेत बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

























