सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले आयोजना गरेको ‘एभरेष्ट भ्यु ट्रेल म्याराथन’ प्रतियोगिताको उपाधि खुल्लातर्फ मन कुमार रोक्का र निर्मला राईले जितेका छन् । शुक्रवार गाउँपालिकाको कोर्कु रङ्गशालामा आयोजित ४७ किलोमिटरको म्याराथन प्रतियोगितामा खुल्ला पुरुष तर्फ रोक्का र खुल्ला महिला तर्फ राईले उपाधि जितेका हुन् ।
खुल्ला पुरुष तर्फ गोपाल तामाङ द्वितीय र गोविन्द कार्की तृतीय भएका छन् । खुल्ला महिला तर्फ ल्हाक्पा याङजी शेर्पा द्वितीय र पूर्णिमा राई तृतीय भएको पालिका प्रवक्ता अमित राईले जानकारी दिए । उनीहरूले समान पुरस्कार राशि १ लाख, ७५ हजार र ५० हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

१९ देखि २९ वर्ष उमेरका पुरुष तर्फ प्रथम राजेन्द्र तामाङ, द्वितीय एलिस राई र तृतीय विनोद कुलुङ भएको गाउँपालिकाका उपाध्यक्ष गौरव राईले जानकारी दिए । ३० देखि ४९ वर्ष उमेरका पुरुष तर्फ विनोद कुलुङ प्रथम, जगंविर कुलुङ द्धितिय र विशाल राई तृतीय भएका छन् ।
प्रतियोगितामा महिला, पुरुष दुवै तर्फ १८ वर्ष देखि २९ वर्ष सम्म, ३० वर्ष देखि ४९ वर्ष सम्म र ५० देखि ६५ वर्ष सम्मका प्रतियोगिहरुलाई सम्मान पुरस्कार क्रमशः २० हजार, १५ हजार र १० हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा माप्य दूधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिताले गाउँपालिकाको खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको बताए । पालिका उपाध्यक्ष गौरव राईले यस प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा राम्रो साथ दिएको बताए । प्रतियोगिताको यो दोस्रो संस्करण हो ।

























