काठमाडौँ । टोखा नगरपालिका ४ धापासी हाइट स्थित रैथाने एग्री प्रडक्टस् नेपाल परिसरमा बृहत् कृषि मेला लाग्ने भएको छ ।
स्थानीय स्तरमा उत्पादन भएका पञ्चगुणिय तत्त्वले भरिपूर्ण कृषि उत्पादनहरू, नेपाली मौलिक सिप र ज्ञानमा आधारित हस्तकला तथा बस्तुहरूको प्रवर्द्धन, उपभोक्ता र बिक्रेता बिच सिधा सम्पर्क स्थापित गराई दिगो बजारीकरणमा टेवा पुर्याउने हेतुले आगामी शुक्रवार वैशाख १९ गते बिहान ११ देखि साँझ ७ बजेसम्म लाग्ने मेलामा ५० भन्दा बढी कृषि उद्यमी र रैथाने उत्पादनको प्रदर्शनी, खरिद बिक्री हुने विश्व प्रकृति संरक्षण नेपालका अध्यक्ष तिलक ढकालले जानकारी दिए ।
बीउ बिजनको प्रदर्शनी तथा बिक्री, जलवायुमैत्री कृषि प्रविधि तथा औजारहरूको प्रदर्शनी तथा बिक्री, कौसी खेती प्रविधि जानकारी एवं सामग्री प्रदर्शनी तथा बिक्री तथा समुदाय विशेष परिकारहरूको प्रदर्शनी मेलाको आकर्षणको रूपमा रहने छन् ।
त्यस्तै, रैथाने तथा स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा बिक्री, दुग्धजन्य उत्पादनको प्रदर्शनी तथा बिक्री, मही संस्कृति र त्यसको उपयोगिताबारे जानकारी र परम्परागत प्रविधिहरू ढिकी, जाँतो, ओखल र घट्ट सञ्चालन गर्ने अभ्यास र अवलोकन पनि मेलाको आकर्षणको रूपमा रहने रैथाने एग्री प्रडक्टस् नेपालका सञ्चालक आरबि राईले जानकारी दिए ।
विश्व प्रकृति संरक्षण नेपालका अध्यक्ष ढकालले भने, ‘साना, महिला तथा घरेलु कृषि उत्पादनलाई प्रत्यक्ष उपभोक्ता सँग जोडिदिने उद्देश्य सहित रैथाने र स्थानीय उत्पादनबारे ज्ञान, सीप र प्रविधिको प्रदर्शनी गर्ने ध्येयले मेलाको आयोजना गरेका हौँ । कृषक तथा उद्यमीलाई पुरस्कृत गरेर उनीहरूको ऊर्जा भरिदिने व्यवस्था समेत मिलाएका छौँ ।’
उद्यमी प्रोत्साहनका लागि मेलामा सहभागी कृषि उद्यमी र उत्पादन, ब्राण्डिङ लगायतका सूचकको आधारमा उत्कृष्ट तीन उद्यमीलाई पुरस्कृत गर्ने कार्यक्रम समेत राखिएको छ । विजेतालाई नगद १५ हजार, १० हजार र ५ हजारको साथमा प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
बृहत् कृषि मेला आयोजनामा कृषि विभाग, पशुपंक्षि विकास मन्त्रालय बागमती प्रदेश, टोखा नगरपालिका र रैथाने एग्री प्रडक्टस् नेपालले सहकार्य गरेका छन् । मेलामा अवलोकन, जानकारी आदानप्रदान र उत्पादन खरिद बिक्रीका साथै मौलिक परिकारहरूको व्यवस्था समेत गरिएको छ ।

























