३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

कोटीहोममा भक्तजनको ओइरो, भारतका दार्शनिक प्रशान्त कृष्ण परांकुश आउँदै


१८ बैशाख २०८२, बिहिबार  

2
Shares

पोखरा । पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञ १४औँ दिनसम्म जारी छ । कोटीहोम महायज्ञको औपचारिक उद्घाटन भने बुधवार गरिएको थियो । आज १४औँ दिनमा चर्चित अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले श्रीमद्भागवत कथा वाचन सकेकी छन् । 

शुक्रवारदेखि भारतका चर्चित युवा दार्शनिक एवं कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन गर्ने आयोजक मानव सेवा फाउन्डेसन तथा कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

कथा वाचिका देवी प्रतिभाले ‘यो कोटीहोममा मेरो अन्तिम प्रस्तुति हो, मैले सुनाएका कथाले तपाईँहरू प्रसन्न हुनुभयो ?’ भनेर प्रश्न गर्दा भक्तजनले ठुलो स्वरमा ‘हामी निकै खुसी भयौँ, तपाईँ अझै बसेर हामीलाई अन्य कथा पनि सुनाउनु’ भनेका थिए । 

संयोजक ढकालका अनुसार बिहीबार देवी प्रतिभाद्वारा प्रस्तुत अन्तिम दिनको श्रीमद्भागवत कथा श्रवण गर्न करिब १० हजार पाँच सय भक्तजन सहभागी थिए । कोटीहोममा हालसम्म एक लाख भन्दा बढी भक्तजन सहभागी भएको आयोजकको दाबी छ। 

भक्तजनको सहभागिता बढ्दै गएको र अर्थ सङ्कलन कार्य पनि बढिरहेको बताइएको छ । बिहीबार पोखरा बिरौटाका दिनेश कार्कीका परिवारजनले ५१ हजार एक सय ११ रुपैयाँ दान गरेका छन् । 

कोटीहोमको १४औँ दिनमा भारतका डा. विश्वासनन्द, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश प्रमुख लक्ष्मण देवकोटा, अन्नपूर्ण केबलकारका प्रबन्धक दिनेश पौडेललगायतका व्यक्तित्व सहभागी थिए । 

अन्नपूर्ण केबलकारका प्रबन्धक पौडेलले कोटीहोमका भक्तजनलाई केबलकारसम्म जानका लागि निःशुल्क बस सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भारतका के के शर्माले पोखरामा आयोजित कोटीहोम संसारमा अहिलेसम्म भएका यज्ञभन्दा विशाल भएको बताए । उनले यो कोटीहोमले विश्वमा नै नेपालको चर्चा भएको बताए । उनले भने, ‘नेपालको कोटीहोम भनेर निकै चर्चा गरिएको छ ।’

कोटीहोमका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिले यस प्रकारको यज्ञ अहिलेसम्म कहीँ कतै नभएको र भविष्यमा पनि हुन नसक्ने दाबी गरे ।

कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।

कोटीहोममा श्रीमद्भागवत कथा, राम कथा, शिव महापुराण कथा, हनुमान कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, व्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौँ रामनाम लेखिने र एक करोड शिव लिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पूजन गरिने जनाइएको छ ।

सो अवसरमा ११ हजार कलश पूजन भएको छ भने राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक सङ्घसंस्थाको सम्मेलन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पूजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  १० : ०७ बजे