३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

दोस्रो गोकर्णेश्वर महोत्सव सुरु, दुर्गेश थापा देखि राजु लामासम्मले प्रस्तुति दिने



काठमाडौँ । गोकर्णेश्वर नगरपालिका ४ हनुमान चोकमा दोस्रो गोकर्णेश्वर महोत्सव सुरु भएको छ । आगामी जेठ ३ सम्म चल्ने महोत्सवको वैशाख १९ गते उद्घाटन गरिएको छ । 

औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा जारी महोत्सवमा एक सय बढी स्टल राखिएको छ । स्टलमा लत्ताकपडा, भाँडाकुँडा, खेलौना, खाद्यान्न, कृषि औजार, शृङ्गार सहित खानेकुराहरू राखिएको छ । बालबालिकाको लागि बाल उद्यान सञ्चालनमा ल्याइएको छ भने दैनिक ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने औद्योगिक शान्ति नेपाल संस्थाका वरिष्ठ उपाध्यक्ष राज कुमार खड्काले जानकारी दिए । 

उनले भने, ‘स्थानीय देखि राष्ट्रिय स्तरमा ख्याति कमाएका विभिन्न विधाका कलाकर्मीको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको छ । दुर्गेश थापा, ज्योति मगर देखि मंगोलियन हर्टसम्मलाई महोत्सवमा सुन्न र हेर्न मिल्ने व्यवस्था मिलाउदैछौँ।’ एक सय बढी कलाकारलाई स्टेज चढ्ने अवसर प्रदान गर्ने खड्काले बताए ।

महोत्सव अवधिभर वैशाख २७, २८, २९ जेठ २ र ३ गते बाहेक अन्य दिन निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।  गोकर्णेश्वर च्याउ समूहका सचिव सिताराम घिमिरेले महोत्सवले स्थानीय उत्पादन बिक्री तथा प्रवर्द्धनमा टेवा पुग्ने बताए । गोकर्णेश्वर ४ वडाध्यक्ष जयराम महतले महोत्सवले वडावासीमा उत्साह भर्नुका साथै स्थानीय प्रतिभा उजागरलाई भूमिका खेल्ने बताए ।

उद्घोषक तथा गायक रमेश श्रेष्ठ ‘मेलोडी’ले महोत्सवमा दर्शकको सुरुवाती उपस्थितिले गत वर्ष भन्दा भव्य हुने सङ्केत मिलेको प्रतिक्रिया दिए । व्यापारका लागि स्टल लिएकाहरू पनि प्रारम्भिक व्यापारबाट उत्साहित देखिएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १ : २० बजे