३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सोलुदुधकुण्ड नेपालकै सबैभन्दा कम बेरुजु भएको पालिकामा दर्ज, कोशी प्रदेशमा पहिलो



सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका नेपालको ७५३ वटै स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु आउने स्थानीय तहमध्ये दोस्रो सुचीमा परेको छ । 

महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको ६२ औँ वार्षिक तथा आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनअनुसार सोलुदुधकुण्डको बेरुजु ०.०१ प्रतिशत रहेको हो । जुन स्थानीय तहको बेरुजु सूचिमा दोस्रो नम्बरमा छ । जसलाई सोलुदुधकुण्ड नगरपालिकाले उल्लेखनीय सफलता स्थानीय शासनमा सुशासन, पारदर्शिता र समावेशी विकासको उत्कृष्ट उदाहरण भनेको छ । 

उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाको कुल १ अर्ब ५८ करोड २२ लाख ४५ हजार रुपैयाँ बराबरको बजेटको लेखा परीक्षण गर्दा जम्मा ०.०१ प्रतिशत अर्थात् १ लाख २१ हजार ८ सय रुपैयाँ मात्र बेरुजु देखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले जानकारी दिए ।  सोलुदुधकुण्ड नगरपालिकालाई देशभरका ७५३ स्थानीय तह मध्ये राष्ट्रिय स्तरमा दोस्रो र कोशी प्रदेशमा पहिलो स्थानमा पुत्याएको छ। 

यो उपलब्धि कुनै संयोग नभई सक्षम, जिम्मेवार र जन प्रतिबद्ध नेतृत्वको प्रतिफल भएको नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बताए । नगरपालिकामा पारदर्शिता, सेवामुखी शासन र जनउत्तरदायी प्रशासनलाई प्राथमिकतामा राखेको उनको भनाई छ । 

जारी विज्ञप्तिमा मेयर शेर्पाले भनेका छन्,  ‘सामाजिक समावेशिता, जनसहभागिता र सामुदायिक विश्वासमा आधारित समग्र प्रयासको परिणाम हो, हामी सबै वर्ग, समुदाय र भौगोलिक क्षेत्रका नागरिकहरूलाई समेटेर समृद्ध नगर, सशक्त समुदाय निर्माणमा समर्पित छौँ।  वित्तीय अनुशासनसँगै, भौतिक, सामाजिक र मानव विकासका सूचकहरूमा पनि गुणात्मक सुधार ल्याउन हामी कटिबद्ध छौँ। पारदर्शी लेखा परीक्षण प्रणाली, नागरिकमैत्री सेवा प्रवाह, पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा समावेशी कार्यक्रमहरू हाम्रो प्रमुख प्राथमिकता हुन् ।’  

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  १० : ११ बजे