३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

नेले-बुढिडाँडा-सोताङ-महाकुलुङ सडक कालोपत्रेका लागि ३० करोडको बहुबर्षीय कार्यक्रम स्वीकृत


३ जेष्ठ २०८२, शुक्रबार  

72
Shares

सोलुखुम्बु । जिल्लाको नेले-बुढिडाँडा-सोताङ-महाकुलुङ सडक कालोपत्रेका लागि रु.३० करोडको बहुबर्षीय कार्यक्रम स्वीकृत भएको छ । थुलुङ दुधकोशी स्थानीय सरकारको प्रस्तावमा कोशी प्रदेश मार्फत उक्त कार्यक्रम स्वीकृत भएको थुलुङ दुधकोशी गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

थुलुङ दुधकोशी गाउँपालिकाको लागि अर्को महत्त्वपूर्ण कार्यक्रम स्वीकृत भएको गाउँपालिका अध्यक्ष असीम राईले बताउनुभयो । जसको लागि अहोरात्र खट्नुहुने प्रदेश सांसद गोम्बु शेर्पा (कर्ज्याङ) र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो धन्यवादको पात्र बन्नुभएको अध्यक्ष राईले सामाजिक सञ्जाल मार्फत व्यक्त गर्नुभएको छ ।

गाउँपालिकाको गौरवको योजना अन्तर्गत नेले-मुक्ली कालोपत्रेको काम धमाधम भइरहेको भन्दै अध्यक्ष राईले नेले-बोगल हुँदै बुडिडाँडा- सोताङ- महाकुलुङ सडकको लागि पनि बहुबर्षीय कार्यक्रम स्वीकृत हुनु अर्को खुसीको कुरा रहेको बताउनुभयो ।

गाउँपालिका प्रवक्ता समेत रहनुभएका थुलुङ दुधकोशी -७ का वडा अध्यक्ष भोजराज कार्कीले स्थानीयको आवश्यकता अनुसार निर्वाचनका बेला वडाको तर्फबाट सांसद शेर्पालाई अनुरोध पत्र समेत पेस गरिएको स्मरण गर्दै माग पूरा भएको बताउनुभयो । कार्यक्रम स्वीकृत गराउन स्थानीय सरकारको तर्फबाट महत्त्वपूर्ण भूमिका सहित प्रस्ताव पेस गर्नुहुने गाउँपालिका अध्यक्ष असीम राई र पहल गर्नुहुने सांसद शेर्पालाई थुलुङ दुधकोशी ७ र ८ देउसा सहित कोशी पारीका नागरिकले धन्यवाद दिएका छन् ।

यता प्रदेश सांसद शेर्पाले पनि निरन्तरको प्रस्ताव, दबाब र पहलकदमीपछि रु.३० करोड लागतको नेले-सोताङ-महाकुलुङ सडक स्तरोन्नति र कालोपत्रे गर्ने बहुबर्षीय कार्यक्रम स्वीकृत भएको भन्दै प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरलाई हार्दिक धन्यवाद दिनुभएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  ९ : २५ बजे