सोलुखुम्बु । सोलुखुम्बु जिल्ला स्तरीय कविता प्रतियोगितामा शम्भु निशब्दको प्यालेस्टाइनी बालकको बयान शिर्षकको कविता प्रथम भएको छ ।
थुलुङ दुधकोशी प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको बृहत कवि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगितामा जिल्ला भरका ६२ वटा कविताहरु सहभागि भएको प्रतिष्ठानका प्राज्ञ संयोजक सुवास संगम राईले जानकारी दिए ।
प्रतियोगितामा लेखनाथ कटेल द्धितिय र तृतिय स्थान निर्मला बस्नेतका कविताले ओगट्न सफल भएको छ । यस्तै चौथो स्थान विनिता बस्नेत र लक्ष्मी काफ्लेले प्राप्त गरेका छन् ।
प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्नेले प्रमाण पत्रको साथमा क्रमश नगद ३० हजार, २० हजार, १५ हजार र ५–५ हजार प्राप्त गरेका छन् ।
बृहत कवि गोष्ठी तथा जिल्ला स्तरिय कविता प्रतियोगीतामा सहभागी बन्न वरिष्ठ कवि एवं गीतकार श्रवण मुकारुङ, साहित्यकार डा. रेणु सोलु, प्रसिद्ध कविद्धय स्वप्निल स्मृति, सोझो गाउँले र गायक कुमार प्रयास राई लगायतका व्यक्तित्वको सहभागीता रहेको थियो ।
कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले शब्दमा मानसपटल परिवर्तनको शक्ति हुने बताए । त्यही शब्दमा खेल्ने कविहरुको सृजना सुन्न र सुनाउन पाउँदा आनन्द मिलेको बताए ।
थुलुङ दुधकोशी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ संयोजक सुवास संगम राईले जिल्लामै पहिलो पटक बृहत कवि गोष्ठि तथा जिल्ला स्तरिय कविता प्रतियोगीता भव्य रुपमा सफल भएको बताए ।

























