काठमाडौँ । तारकेश्वर नगरपालिका ६ पैँयुटारमा निर्मित अपाङ्ग सेवा केन्द्रको आवास गृहको उद्घाटन गरिएको छ ।
देश विदेशमा रहेका नेपालीहरूबाट सङ्कलित करिब ६० लाखको लागतमा निर्मित आवास गृहको शनिवार एक कार्यक्रमको अवसरमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले उद्घाटन गरे ।
लिजमा लिइएको जग्गामा निर्मित गृहमा २१ वटा कोठा, अपाङ्गमैत्री शौचालय, हस्तकलाका सामग्री निर्माण कोठाहरू निर्माण गरिएको केन्द्रका अध्यक्ष चन्द्र बहादुर खत्रीले जानकारी दिए ।
१२ जनाबाट २०७० सालमा सुरु भएको अपाङ्ग सेवा केन्द्रमा अहिले ४० जना अपाङ्गता भएका व्यक्तिहरूले आश्रय लिँदै आएका छन् । केन्द्रलाई अब वासिङ मेसिनको आवश्यकता रहेको छ ।
आवास गृह निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी कलाकार तथा समाजसेवी माया थामीले देश विदेशमा रहेका नेपालीहरूबाट प्राप्त सहयोगले अपाङ्गता भएका व्यक्तिहरूको आवास निर्माण सम्पन्न भएको बताइन् ।
उद्घाटन कार्यक्रममा कलाकारहरू एन्जिला रेग्मी, विन्दु परियार, रुविना अधिकारी लगायतले प्रस्तुति दिएका थिए ।

























