९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

फिल्म ‘गोबर गणेश’को शिर्ष गीत सार्वजनिक



काठमाडौँ । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को निर्देशनमा बनेको फिल्म ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक गरिएको छ। गीतमा मरिचमान श्रेष्ठकै स्वर सुन्न सकिन्छ । गीतका शब्द तथा संगीत बाबुल गिरीले तयार पारेका हुन् । रमाइलो शैलीमा तयार गरिएको यस गीतले फिल्मको समग्र मुड र कथावस्तुको झल्को दिन्छ। गीत, शब्द र संगीतले फिल्मको आधारभूत स्वाद कमेडी रहेको स्पष्ट पारेको छ ।

गीतले सबै कुरामा सक्षम भए पनि पढाइमा कमजोर हुँदा त्यसले व्यक्तिको आत्मविश्वास र सामाजिक जीवनमा पार्ने असरलाई प्रस्तुत गरेको छ । पढाइ कमजोर हुँदा समाज र साथीभाइबीच नकारात्मक धारणा कसरी बन्न जान्छ भन्ने विषयलाई गीतमार्फत सरल र मनोरञ्जनात्मक शैलीमा देखाइएको छ । गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा मरिचमान श्रेष्ठ केन्द्रमा देखिएका छन्। उनीसँगै अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता निर्मल शर्माले पनि महत्वपूर्ण स्थान पाएका छन् ।

फिल्म ‘गोबर गणेश’ माघ १ गते प्रदर्शनमा आउने तयारीमा छ । छायांकन सम्पन्न भइसकेको यो फिल्म हाल पोस्ट–प्रोडक्सन चरणमा रहेको छ । बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस फिल्ममा मरिचमान श्रेष्ठ र वर्षा शिवाकोटीका साथै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछाने लगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्ममा तारानाथ न्यौपाने चिफ एडी, योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको छायांकन (डीओपी) र विपीन मल्लको सम्पादन रहनेछ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने नेपालमा यसको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ८ : ३८ बजे