३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

सोलुदूधकुण्डलाई बालमैत्री स्थानीय तह बनाउने प्रतिबद्धता


२७ चैत्र २०८१, बिहिबार  

6
Shares

सोलुखुम्बु । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका दुई वर्षभित्र बालमैत्री स्थानीय तह घोषणा हुने भएको छ । त्यसका लागि कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बालमैत्री स्थानीय शासन, अपाङ्गता र ज्येष्ठ नागरिक मैत्री, सुरक्षित कार्यस्थल र सेवाप्रवाहसम्बन्धी तीन दिने क्षमता विकास कार्यक्रम गरिएको छ ।

नगरपालिका जनप्रतिनिधिहरू, विषयगत शाखाका प्रमुख तथा स्थानीयस्तरका सरोकारवालाहरूको सहभागितामा भएको कार्यक्रममा बालमैत्री शासन विधि तथा विकास निर्माणलगायतका विषयमा छलफल भएको छ ।

नगरपालिकाभरी हुने शासकीय क्रियाकलापमा बालमैत्री व्यवहार र बाल सहभागिताको सुनिश्चितता गर्ने उद्देश्यले बालमैत्री स्थानीय तह घोषणा गर्न लागिएको कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका उपसचिव पूर्णबहादुर थापाले बताए ।

प्रदेशको यस कार्यक्रमले बालमैत्री स्थानीय तह बनाउन आवश्यक मापदण्ड तथा स्थानीय तहको भूमिकाका बारेमा जानकारी भएकाले नगरपालिकालाई दुई वर्षभित्र बालमैत्री बनाउन प्रतिबद्ध रहेको नगरप्रवक्ता फुर्वाग्याल्जेन शेर्पाले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ५ : ०७ बजे